सप्तरीको राजगढ गाउँपालिका सन्दर्भ : प्रेस मञ्चद्वारा नेपाल पत्रकार महासंघ सप्तरीमा अनिश्चितकालीन तालाबन्दी
मिति: २०२४-०८-२३ , समय : १६:३१:३४ , गामघर डेस्क
मिति: २०२४-०८-२३ , समय : १६:३१:३४ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीको राजगढ गाउँपालिका अध्यक्ष ओम प्रकाश मण्डलसहितका समुहले पत्रकारमाथि गरेको आक्रमणको घटनालाई लिएर पत्रकारहरु वीचमै विचार बाझिएको छ । महासंघ नेतृत्व पीडित पत्रकारको पक्षमा संघर्षको बाटो रोज्न मौन देखिएको आरोप लगाउंँदै पीडित पत्रकारसहित केही महासंघ पदाधिकारी तथा प्रेस मञ्च सप्तरी महासंघ नेतृत्व विरुद्ध आन्दोलनमा उत्रिएको हो ।
पत्रकारमाथि दुर्व्यवहार घटनामा महासंघका अध्यक्ष श्रवण कुमार देवले महासंघलाई अनिर्णयको बन्दी बनाई मौनता साधेको आरोप लगाउदै प्रेस मञ्च नेपाल सप्तरीको नेतृत्वमा पीडित पत्रकार र महासंघका पदाधिकारीहरुले शुक्रवार नेपाल पत्रकार महासंघ सप्तरी शाखा कार्यालयमा तालाबन्दी गरेका छन् ।
प्रेस मञ्च नेपालका अध्यक्ष भूषण कुमार सिंहको नेतृत्वमा नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष बैद्यनाथ यादव, पीडित समेत रहेका सचिव रामनारायण विश्वास तथा केही कार्यसमिति सदस्यले अध्यक्षको मौनताको विरोध गर्दै महासंघको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरेको प्रेस मञ्च नेपाल सप्तरीले जनाएको छ ।
समाचार संकलनका क्रममा पत्रकारमाथि भएको घटनालाई लिएर साउन २३ गते महासंघ अध्यक्ष देवको अध्यक्षतामा बसेको पत्रकारहरुको बृहत बैठकको निर्णय बमोजिम घटनामा संलग्नमाथि कारबाही गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएको हप्तौंसम्म दर्ता नहुँदा समेत अध्यक्ष मौन बसेकोले बाध्य भएर आफ्नै नेतृत्व विरुद्ध संघर्षमा जानू परेको महासंघका उपाध्यक्ष यादवले बताए । यस विषयमा अध्यक्ष देवसहित महासंघ पदाधिकारीसंग पटकपटक छलफल गर्दा गम्भीर नदेखिएकोले पत्रकारहरुको सुरक्षा र अस्तित्व रक्षाका लागि संघर्षमा उत्रिनु परेको प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष सिंहले जानकारी दिए ।
पीडित पत्रकार र महासंघले प्रहरीलाई बुझाएको जाहेरी दर्ता नभएसम्म आन्दोलन जारी रहने उनले बताए । जाहेरी दर्ताका लागि दवाव स्वरुप प्रहरी विरुद्ध थप संघर्षका कार्यक्रम घोषणा गरी सशक्त आन्दोलनमा उत्रिने अध्यक्ष सिंहले बताए । यसअघि प्रेस मञ्च नेपालले पत्रकारमाथि भएको आक्रमणको घटना दुई हप्ता हुँदा समेत प्रहरीले राजगढ गाउँपालिका अध्यक्ष मण्डलसहित संलग्नमाथि जाहेरी गर्दा नगरेको तथा महासंघ नेतृत्वम्समेत चुप रहेको भन्दै महासंघको आधिकारिक धारणा माग गरेका थिए ।
महासंघका अध्यक्ष श्रवण कुमार देवले बिहीवार महासंघ मुद्दा दर्ताको पक्षमा नरहेको तथा बार्ता र सम्वादबाटै समस्याको समाधान खोज्ने लिखित जवाफ पठाएपछि प्रेस मञ्चको नेतृत्वमा पीडित पत्रकारहरु सहित संघर्षमा उत्रिएका छन् ।
देवले यस अघि कार्य समिति र आवद्ध संगठनहरुको बैठकमा पीडित साथीहरूले बार्ता र सम्वादको माध्यमबाट सामाजिक न्यायमा जाने सहमति दिइएपनि पछि पीडित मध्येका दुइजनाले उक्त विषयमा सहमति गरेपनि “अब कानुनी उपचारमै जाने” भनि बताएको र बहुमत पत्रकार सदस्यहरुको धारणा र सल्लाह तथा चार- चारवटा आवद्ध संगठनहरुको समेत निर्णय अनुसार महासंघ सामाजिक न्यायमै जाने भनि मञ्चलाई पत्र पठाएका थिए ।
साउन २६ गते अध्यक्ष देव, नेपाल प्रेस यूनियन सप्तरीका अध्यक्ष विनयलाल कर्ण, प्रेस मञ्च नेपाल सप्तरीका अध्यक्ष सिंह, प्रेस चौतारी नेपाल सप्तरीका अध्यक्ष डम्बर राई, समाजवादी प्रेस संगठन सप्तरीका अध्यक्ष अनिल कुमार पोखरेलले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ र पीडित पत्रकारहरुले बुझाएको जाहेरी अविलम्ब दर्ता गर्न आग्रह गर्दै आलटाल गरे प्रहरी विरुद्ध कडा संघर्षमा जाने चेतावनी दिएको थिए ।
त्यसको भोलिपल्ट साउन २७ गते महासंघ र प्रेस मञ्च बाहेकका नेपाल प्रेस युनियनका अध्यक्ष कर्ण, प्रेस चौतारी नेपालका अध्यक्ष राई, समाजवादी प्रेस संगठनका अध्यक्ष पोखरेल र प्रेस सेन्टर नेपाल सप्तरीका उपाध्यक्ष विन्दु कुमार यादवले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकारमाथि भएको दुर्व्यवहार घटनाको निन्दा गर्दै बार्ता सम्वादको माध्यमबाट समस्याको समाधान खोज्न आग्रह गरेका थिए ।
गत साउन २२ गते समाचार संकलनका लागि राजगढ गाउँपालिका पुगेका नेपाल पत्रकार महासंघ सप्तरीका सचिब एवम् कान्तिपुर टिभीका सप्तरी प्रतिनिधि रामनारायण विश्वास, कोषाध्यक्ष एवम् राजविराज दैनिकका प्रकाशक नवीन कुमार गुप्ता र कार्यसमिति सदस्य एवम् नेपाल समाचार पत्रका प्रतिनिधि विद्यानन्द रामलाई अध्यक्ष मण्डलसहितका समुहले कोठामा बन्धक बनाएर माइक खोस्नुको साथै दुर्व्यवहार गरेका थिए ।
यता गत साउन २३ गते प्रहरीलाई जाहेरी बुझाएपनि अहिलेसम्म दर्ता नगरेको पीडित पत्रकारहरुले गुनासो गरेका छन् ।
प्रकाशित मिति: २०२४-०८-२३ , समय : १६:३१:३४ , ४ महिना अगाडि