मधेस प्रदेश : अबैध लागूऔषधसहित एक जना पक्राउ
मिति: २०२४-०८-१७ , समय : १३:२१:२४ , गामघर डेस्क
मिति: २०२४-०८-१७ , समय : १३:२१:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको पर्सा प्रहरीले लागूऔषध कारोबारमा संलग्न एक व्यक्तिलाई ठूलो परिमाणमा लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सां कालिकामाई गाउँपालिका–१ मुडलीका ४० वर्षीय फुलसरिफ मियाँ छन् । प्रहरीले उनलाई बिहीबार राति ८ बजे पटेर्वासुगौली गाउँपालिका–४ अकवा गाउँबाट पक्राउ गरेको हो ।
ठूलो परिमाणमा विभिन्न किसिमका लागूऔषधहरू खरिद बिक्री भइरहेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मियाँलाई बाँसघारीमा शंकास्पद रूपमा लुकिरहेको अवस्थामा फेला पारेको थियो । नियन्त्रणमा लिँदा उनको साथबाट ३० किलो लागूऔषध गाँजा फेला परिएको थियो ।प्रारम्भिक सोधपुछ गर्दा बाँसघारी नजिक खाल्डो खनी बोराभित्र राखिएको मियाँले बताएपछि त्यहाँबाट थप ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो । खाल्डोबाट १ सय ९२ किलो लागूऔषध चरेस र २ सय ६७ किलो गाँजाको धुलो (पोलाण्ड) फेला परेको थियो ।
पर्सा प्रहरीले पत्रकार सम्मेलन गरी शुक्रबार मियाँलाई लागूऔषधसहित सार्वजनिक गरेको हो । पत्रकार सम्मेलनमा पर्साका एसपी कुमोध ढुंगेलले पर्सा प्रहरीले मियाँ पक्राउ पर्दा ठूलो सफलता पाएको दाबी गरे । उनले लागूऔषधको कारोबार नेपाल प्रहरीका लागिमात्र नभई भारत प्रहरीका लागि पनि ठूलो चुनौती रहेको बताए ।सीमावर्ती जिल्लाहरुबाट यस्ता लागूऔषध प्रायः भारत लग्ने गरिन्छ । नेपाल र भारत दुवै तर्फका लागूऔषध कारोबारीहरुको संलग्नतामा यस्ता लागूऔषधका ठूला कारोबार हुने गर्छन् । यता साउन महिनाको शुक्रबारसम्ममा गरी ४ महिला र २६ पुरुषलाई जिल्लाका विभिन्न स्थानबाट लागूऔषधसहित पक्राउ गरिएको एसपी ढुंगेलले बताए ।
प्रकाशित मिति: २०२४-०८-१७ , समय : १३:२१:२४ , ४ महिना अगाडि