बङ्गलादेशको राजधानी ढाकामा सयौं पसलमा लुटपाट : ५० वटा पुलिस चौकीमा आगजनी

मिति: २०२४-०८-०६ , समय : १५:२६:४० , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

बङ्गलादेश ।
बङ्गलादेशमा गएराति कैयौं ठाउँमा लुटपाट र तोडफोड भएको छ । प्रदर्शनकारीहरूले धनमोन्डीमा रहेको बङ्गबन्धु स्मृति सङ्ग्रहालयमा तोडफोड र आगो लगाएका छन् ।

शेख हसिनाको पार्टी अवामी लिगको विरासतलाई संरक्षण गर्न बङ्गलादेशको राजशाही जिल्लामा सङ्ग्रहालय निर्माण गरिएको थियो । प्रदर्शनकारीहरूले शेख हसिनाका पिता बङ्गबन्धु शेख मुजीबुर रहमानको तस्बिर पनि जलाएका थिए ।

बङ्गलादेशको राजधानी ढाकाको जात्राबारी, बड्डा, मोहम्मदपुर, अडाबार लगायतका धेरै प्रहरी चौकीमा आक्रमण भएको छ । प्रहरी चौकीमा आक्रमण र आगलागीपछि सयौं पसलमा आगजनी भएको बीबीसी हिन्दीले जनाएको छ ।

राजधानीका धेरै प्रहरी चौकी जलेका र भत्किएको अवस्थामा रहेका छन् । ड्युटीमा रहेका प्रहरी सुरक्षा सङ्कटका कारण कार्यालय छोडेर सुरक्षित ठाउँमा गएका थिए । कुनै कुनै प्रहरी चौकीबाट हतियार, गोलाबारुदको लुटपाट पनि भएको छ । केही लुटेराले प्रहरीका मोटरसाइकल र गाडीसमेत लुटेका छन् ।

बङ्गलादेशमा आन्दोलन चर्किएपछि प्रधानमन्त्री शेख हसिना हिजो भागेर भारत जानुभएको छ । सेनाले अन्तरिम सरकार बनाउने बताए पनि सरकार गठन भइसकेको छैन । एजेन्सी

प्रकाशित मिति: २०२४-०८-०६ , समय : १५:२६:४० , ४ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित