मधेस प्रदेशको नाकाबाट हुने हवाई इन्धन र ग्यासको आयात घट्यो
मिति: २०२४-०८-०४ , समय : २०:००:२४ , गामघर डेस्क
मिति: २०२४-०८-०४ , समय : २०:००:२४ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । देशको प्रमुख व्यापारिक नाका मधेस प्रदेशको वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपीजी ग्यास र हवाई इनधनमा कमी आएको छ ।
गएको आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यासको आयातमा चार प्रतिशत र हवाई इन्धनको आयातमा ७१ प्रतिशतले कमी आएको हो । आर्थिक वर्ष २०७९/८० मा वीरगञ्ज नाका प्रयोग गरी ३३ अर्ब १३ करोड रुपैयाँ बराबरको दुई लाख ९० हजार दुई सय ८७ मेट्रिक टन खाना पकाउने ग्यास आयात भएकोमा गएको आर्थिक वर्षमा ३० अर्बको रुपैयाँको दुई लाख ६७ हजार ४८ मेट्रिक टन ग्यास आयात भएको छ ।
भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार अघिलो आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट १७ अर्ब ३१ करोड रुपैयाँको पाँच लाख ९७ हजार एक सय ४४ किलोलिटर हवाई इन्धन आयात भएकाेमा गएको आर्थिक वर्षमा १८ अर्ब २१ करोड रुपैयाँको एक लाख ७३ हजार चार सय ८४ किलोलिटर आयात भएको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी रघुलाल कर्णले खाना पकाउने ग्यास र हवाई इन्धनको आयातमा कमी देखिए पनि नेपालमा सबैभन्दा बढी इन्धनका रूपमा उपयोग हुने डिजल र पेट्रोलको आयात भने बढेको बताउनुभयो । डिजल चार प्रतिशत र पेट्रोलको आयात दुई प्रतिशतले बढेको उहाँले जानकारी दिनुभयो ।
सूचना अधिकारी कर्णका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक खर्ब १३ अर्ब ५८ करोडको १० लाख ४० हजार पाँच सय छ किलाेलिटर डिजल र ३८ अर्ब २४ करोडको तीन लाख ८९ हजार सात सय ११ किलाेलिटर पेट्रोल आयात भएको थियाे । गएकाे आर्थिक वर्षमा एक खर्ब नौ अर्ब २९ करोडको १० लाख ८३ हजार पाँच सय २० किलाेलिटर डिजल र ३९ अर्ब दुई करोड रुपैयाँको तीन लाख ९४ हजार सात सय २३ किलाेलिटर पेट्रोल आयात भएको उहाँले जानकारी दिनुभयो ।
कर्णका अनुसार नेपालका लागि आवश्यक ७० प्रतिशत इन्धनको आयात वीरगञ्ज नाकाबाट हुने गरेको छ । रासस
प्रकाशित मिति: २०२४-०८-०४ , समय : २०:००:२४ , 9 months अगाडि