मधेस प्रदेश : एक महिलाको शंकास्पद मृत्यु

मिति: २०२४-०८-०४ , समय : १३:२१:४६ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको बाराको निजगढ नगरपालिका- ६ योजना टोलमा एकजना महिलाको शंकास्पद मृत्यु भएको छ ।दिलबहादुर थापाकी ५० वर्षीया श्रीमती धनमाया थापाको हिजो बिहान शंकास्पद अवस्थामा मृत्यु भएको स्थानीयकाे भनाइ छ ।

धनमायालाई उनकै श्रीमान् दिलबहादुरले सुत्ने कोठामा रगतसहित बान्ता गरेको अवस्थामा फेला पारेपछि उपचारका लागि निजगढ- ९ स्थित सामुदायिक अस्पताल प्रसूतिगृहमा ल्याएकोमा चिकित्सकले मृतक घोषणा गरेका थिए ।

शवकाे पोस्टमार्टम गरिने

यसैबीच अन्तिम संस्कारका लागि अस्पतालबाट घर फर्काएपछि धनमायाको शव प्रहरीले शनिबार दिउँसो पोस्टमार्टका लागि प्रादेशिक अस्पताल कलैयामा पठाएको छ ।

प्रारम्भिक अनुसन्धानमा कर्तव्यज्यानसम्बन्धी कुनै लक्षण नदेखिए पनि केही स्थानीय उनको हत्या भएको हुन सक्ने बताएपछि शव पोस्टमार्टमका लागि कलैया अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहले जानकारी दिए ।

स्थानीयका अनुसार एक साताअघि श्रीमान् र श्रीमतीबीच घरायसी विवादमा कुटाकुट भएको र सो घटनापछि धनमाया अलग्गै कोठमा बस्दै आएकी थिइन् ।

सोही घटनापछि धनमायाले अत्यधिक मदिरा सेवन गर्ने गरेको पनि बताइएको छ । निरीक्षक कुशवाहका अनुसार प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको र हत्या वा मृत्यु भन्नेबारेमा पोस्टमार्टम रिपोर्टपछि मात्रै पत्ता लाग्ने बताए । नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-०८-०४ , समय : १३:२१:४६ , ५ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्