कोशी प्रदेश : अस्पतालबाट फरार भए बलात्कार मुद्दाका कैदी , बालिकाको अपहरण गर्ने तीन जना पक्राउ
मिति: २०२४-०८-०१ , समय : १४:०९:५३ , गामघर डेस्क
मिति: २०२४-०८-०१ , समय : १४:०९:५३ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । बिरामी भएपछि उपचारका लागि कोशी अस्पताल भर्ना गरिएका कैदी फरार भएका छन् ।
जिल्ला कारागार मोरङमा कैद सजाय भुक्तान गरिरहेका २४ वर्षीय आर्यन मोहमद अहमद खान भनिने मोहमद अहमद कोशी अस्पतालबाट फरार भएका हुन् ।
कारागारका निमित्त जेलर तुलसी पौडेलका अनुसार पेट दुख्ने समस्याका कारण बिरामी परेका अहमदलाई मंगलबार उपचारका लागि कोशी अस्पताल भर्ना गरिएको थियो ।
प्रहरीका अनुसार बिहीबार बिहान सवा ५ बजेतिर उनी अस्पतालबाट फरार भएका हुन् । शाौचालय जाने क्रममा अस्पताल निगरानीमा खटाइएका प्रहरीलाई धकेलेर लडाउँदै उनी फरार भएको प्रहरीले बताएको छ ।
विराटनगर महानगरपालिका-८ घर भएका अहमद जबरजस्ती करणी मुद्दामा दोषी ठहर भएका कैदी हुन् ।
भारततर्फ भाग्नसक्ने सम्भावनालाई मध्यनजर गरेर नेपाल–भारत सीमा क्षेत्रमा निगरानी बढाएको छ ।
जबरजस्ती करणी मुद्दामा अहमदलाई जिल्ला अदालत मोरङले २०७९ फागुन २९ गते १२ वर्ष कैद र ५ लाख जरिवानाको फैसला गरेको थियो । अदालतको फैसला अनुसार २०९१ साल फागुन ३ गते मात्रै कारागारबाट छुट्छन् ।
यता सुनसरीको दुहवीबाट ६ वर्षीया बालिकालाई अपहरण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
मंगलबार दुहवीबाट हराएकी बालिकालाई बुधबार बिहान प्रहरीले विराटनगरबाट उद्दार गरेको थियो ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–६ का ५० वर्षीय सञ्जय पासवान, विराटनगर–१० मा सञ्जयका आफन्त ५० वर्षीय कलानन्द पासवान र ४० वर्षीया सरिता पासवानलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार सञ्जयले बालिकाको अपहरण गरी कलानन्द र सरिताको डेरामा ल्याएर राखेका थिए । सञ्जयले फिरौतीका लागि नभएर बालिकाको ठूलीआमालाई विदेश जान रोक्नका लागि अपहरण गरेको प्रहरीले जनाएको छ ।
बालिकाको ठूलीआमा वैदेशिक रोजगारीमा जानका लागि काठमाडौं गएकी छन् । मंगलबार अपहरणपछि बालिकाको मामालाई फोन गरेर सञ्जयले दिदी (बालिकाको ठूलीआमा)लाई फिर्ता बोलाउन भनेका थिए । फिर्ता नबोलाए बालिका अरुलाई नै दिने भन्दै धम्की दिएका थिए ।
प्रहरीका अनुसार बालिकाको ठूलीआमा र अपहरणमा संलग्न सञ्जयबीच प्रेम सम्बन्ध छ । प्रेमिकालाई विदेश जान दिन उनी तयार थिएनन् ।
तर प्रेमिका विदेश जानका लागि काठमाडौं गएपछि सञ्जयले फिर्ता बोलाउन उनको बहिनीको छोरीलाई घरबाटै अपहरण गरेको देखिएको प्रहरीले बताएको छ ।
बालिका मंगलबार दिउँसो ३ बजेतिर हराएकी थिइन् । बालिका हराएको जानकारी आएपछि इलाका प्रहरी कार्यालय दुहवीले खोजी गर्ने क्रममा बुधबार बिहान विराटनगर–१० बाट उद्दार गरेको थियो ।
सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सञ्जय पासवानले खेलिरहेको अवस्थामा बालिकालाई लिएर गएका थिए । चिनजानकै भएका कारण बालिका पनि उनीसँग सहजै गएकी थिइन् ।
यता पक्राउ परेकाविरुद्ध अपहरण तथा शरीर बन्धक मुद्दा चलाउने प्रहरीले बताएको छ ।
प्रकाशित मिति: २०२४-०८-०१ , समय : १४:०९:५३ , ५ महिना अगाडि