सप्तरीका कुख्यात मिटरब्याजीलाई धरौटीमा थुनामुक्त गर्न अदालतको आदेश

मिति: २०२४-०७-१६ , समय : १०:०४:३६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
विपन्न नागरिकको उठिबास लगाउने सप्तरीका कुख्यात मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती शिवकुमारीलाई २५ लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सप्तरी जिल्ला अदालतले आदेश दिएको छ।

सप्तरीको खडक नगरपालिका वडा न. ७ कल्याणपुरकी मिटरब्याजी रामदेव साह तेलीकी श्रीमती शिवकुमारीलाई सप्तरी जिल्ला अदालतका न्यायाधीश उमानाथ गौतमको एकल इजलासले आईतवार धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको हो। मिटरब्याजी शिवकुमारीलाई असार २६ गते धरानबाट पक्राउ गरिको थियो ।

परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका थिए । निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न थियो । रामदेवसहित अन्य भने फरार छन् ।

खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो । सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई २२ असार २०७९ सालमा पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो । त्यसपछि छोरा र छोरीलाई जनही ५०-५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो ।

खडक नगरपालिका– ७ कल्याणपुरका नन्दकिशोर साह र अनुराधा साहलाई सर्वोच्चका न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको थियो ।

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए । नन्दकिशोर,अनुराधा र श्रीमती शिवकुमारीबाहेक चार जना फरार छन् ।

उजुरी परे पनि अनुसन्धानमा प्रहरीले आलटाल गर्दै आएको थियो । विपन्नमाथि भएको अत्याचारबारे समाचार प्रकाशित भएपछि तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाले साहुकार रामदेवलाई पक्राउ गरी कारबाही गर्न निर्देशन दिएका थिए  । तर, अझैसम्म मिटरब्याजी रामदेव साहसहित उनका परिवारका अन्य सदस्य पक्राउ परेका छैनन् । नयाँ पत्रिका

प्रकाशित मिति: २०२४-०७-१६ , समय : १०:०४:३६ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित