भारतीय प्रधानमन्त्री मोदीद्वारा तेस्रो कार्यकालका लागि शपथ : ७२ सदस्यीय मन्त्रिपरिषद गठन
प्रधानमन्त्री ‘प्रचण्ड’ भारतीय प्रधानमन्त्री मोदीको शपथ ग्रहण समारोहमा सहभागी
मिति: २०२४-०६-१० , समय : ०८:१२:३४ , गामघर डेस्क
मिति: २०२४-०६-१० , समय : ०८:१२:३४ , गामघर डेस्क
गामघर डेस्क
भारत ।
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकालको शपथ लिनुभएको छ । राष्ट्रपति भवनमा आयोजित एक समारोहमा हिजो मोदीले राष्ट्रपति द्रौपदी मुर्मुसमक्ष प्रधानमन्त्री पदको शपथ लिनुभएको हो । शपथ समारोहमा छिमेकी राष्ट्र प्रमुख, सरकार प्रमुख तथा अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।
मोदीसँगै उहाँको मन्त्रिपरिषद्का सदस्यहरूले पनि शपथ लिएका छन् । प्रधानमन्त्री मोदीले शपथ लिएपछि यसअघि रक्षामन्त्री रहेका राजनाथ सिंह, पहिला गृहमन्त्री रहेका अमित शाह, नितिन गडकरी, बीजेपी अध्यक्ष जेपी नड्डा, एस.जयशंकर, निर्मला सितारमण लगायतले पनि मन्त्रीको शपथ लिएका छन् ।
प्रधानमन्त्री नरेन्द्र मोदीले ३० जना मन्त्री र ४१ जना राज्यमन्त्रीसहित ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गर्नुभएको छ । मन्त्रीहरुमा धेरैजसो पुरानै अनुहार दोहोरिएका छन् ।
नरेन्द्र मोदी यसअघि सन् २०१४ मा पहिलो पटक र २०१९ मा दोस्रो पटक भारतको प्रधानमन्त्री निर्वाचित हुनुभएको थियो ।
यसपटक नरेन्द्र मोदीको नेतृत्वमा रहेको एनडीए गठबन्धनले ५४३ सिटमध्ये २९३ सिट जितेर सरकार बनाएको छ । तर, भारतीय जनता पार्टी भाजपा एक्लैले भने बहुमत ल्याउन सकेन ।
यता प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी हुनुभएको छ।
प्रधानमन्त्री दाहाल भारतीय राष्ट्रपति भवनको प्राङ्गणमा हिजो बेलुकी आयोजित विशेष समारोहमा सहभागी हुनुभएको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि राष्ट्रपति द्रोपदी मुर्मुले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।
शपथ ग्रहण समारोहमा नेपालका प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथी उपस्थित हुनुहुन्थ्यो । यसैगरी समारोहमा भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरुको सहभागिता थियो ।
प्रधानमन्त्री ‘प्रचण्ड’ शपथ ग्रहण समारोहमा सहभागी हुन हिजो दिउँसो नयाँ दिल्ली जानुभएको हो । प्रधानमन्त्री दाहालका साथमा उहाँकी सुपुत्री गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत उच्चपदस्थ सरकारी अधिकारी पनि हुनुहुन्छ । प्रधानमन्त्री ‘प्रचण्ड’ आज स्वदेश फर्कने कार्यक्रम छ । एजेन्सी
प्रकाशित मिति: २०२४-०६-१० , समय : ०८:१२:३४ , ६ महिना अगाडि