मन्त्री पदको लोभमा केही मान्छे पार्टीबाट अलग भएकाे जसपा अध्यक्ष उपेन्द्र यादवद्वारा खुलासा

मिति: २०२४-०६-०९ , समय : ०८:१६:५२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मन्त्री र पैसाको लोभमा केही मान्छे पार्टीबाट अलग भएको बताएका छन् । पार्टीको महाधिवेशन तयारीबारे शनिबार जनकपुरधाममा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले आफ्नो पार्टी नफुटेको दाबी गरे । ‘पार्टी फुटेको होइन, केही अवसरवादीहरू सत्ता र पैसाको लोभमा पार्टीबाट अलग भएका हुन्,’ उनले भने । ९९ प्रतिशत क्रियाशील सदस्य र दुईतिहाइ कार्यकारिणी समिति सदस्य आफूहरूसँगै रहेको उनले दाबी गरे । एकताको महाधिवेशनसँगै जसपा नेपाल अझ सुदृढ भएर अघि बढ्ने उनले बताए ।

जनकपुरधाममा २८–३० जेठसम्म आयोजना हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको उनले बताए । महाधिवेशनको उद्घाटन समारोहमा भारतीय राष्ट्रिय कांग्रेस, राष्ट्रिय जनता दल र समाजवादी पार्टी, मलेसियाको डेमोक्रेटिक पार्टी, अजरबैजानको अजबैजान समाजवादी पार्टी, स्पेन, चीन, इन्डोनेसियालगायत मुलुकका लोकतान्त्रिक तथा समाजवादी पार्टीका प्रतिनिधिहरू सहभागी हुने यादवले जानकारी दिए ।

संघीय सरकारले ल्याएको बजेट मधेशविरोधी रहेको उनले आरोप लगाए । ‘मानव विकास सूचकांक, शिक्षा, स्वास्थ्यमा कमजोर रहेको तथा उच्च जनसंख्यामा रहेको मधेश प्रदेशमा सरकारले सबैभन्दा कम बजेट विनियोजन गरेको छ । यसले शासक वर्ग मधेशप्रति कति पूर्वाग्रही भने प्रस्ट हुन्छ,’ उनले भने । जनताले चाहेको खण्डमा पुनः आफ्नो पार्टीको नेतृत्वको मधेश सरकार बन्ने उनले बताए । ‘लोकतन्त्रणमा सधैँ एउटै पार्टीको सरकार हुँदैन । नेतृत्व परिवर्तन हुनु लोकतन्त्रको राम्रो पक्ष हो । हाम्रो पार्टी नेतृत्वको सरकारले मधेश प्रदेशमा विकासका केही काम गरेका छन्, अब अरू पार्टीको सरकारले काम गर्ने हो,’ उनले भने । यादवले एकैचोटि ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेर मुलुकको अन्तर्राष्ट्रिय कूटनीतिविपरीत काम गरेको आरोप लगाए । प्रमुख देशका राजदूतलाई एकैचोटि फिर्ता बोलाउनु लज्जास्पद विषय भएको उनले टिप्पणी गरे ।

प्रकाशित मिति: २०२४-०६-०९ , समय : ०८:१६:५२ , ७ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित