सप्तरी प्रिमियर लिग : वर्षाका कारण दुवै खेल रद्द, तिरहुट टाइगर्स प्लेअफमा

मिति: २०२४-०६-०६ , समय : १५:५१:१९ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको राजविराजमा जारी राजविराज मेयर कप सप्तरी प्रिमियर लिगको छैठौं संस्करणअन्तर्गत सातौँ दिनको दुवै खेल वर्षाका कारण रद्द भएका छन् ।

कन्चनरुप राइनोज र सनराइज एघार तिलाठी कोइलाडी तथा छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल रद्द भएको हो ।

कन्चनरुप र तिलाठी कोइलाडी बीचको खेल पहिलोमा टस जितेर ब्याटिङ गरेको कन्चनरुपले ६.३ ओभरमा कन्चनरुप राइनोजले विकेट नगुमाइ ११५ रन बनाएको थियो ।
त्यसपछि भारी वर्षाले रोकेको खेल पुनः सुरु हुन सकेन । खराब आउटफिल्डका कारण खेल ११ ओभरमा घटाएर खेलाइएको थियो ।

कन्चनरुपको लागि सुभ कंसकारले अविजित ७५ तथा राकेश कामतले अविजित ३३ रन बनाए । आक्रामक ब्याटिङ गरेका सुभले मात्र २१ बलमा ४ चौका र ९ छक्का प्रहार गरे । राकेशले १८ बलमा ३ चौका र २ छक्का मद्दतले ३३ रन बनाए ।

छिन्नमस्ता लायन्स र तिरहुट टाइगर्स बीचको खेल भने टससमेत नभई रद्द भयो ।

आजको नतिजापछि लिग चरणको सबै ५ खेल समाप्त हुँदा छिन्नमस्ता लायन्स ३ जित र २ नतिजाविहीन खेलपछि ८ अंकसहित शीर्ष स्थानमा छ ।

छिन्नमस्ताले पहिलो क्वालिफायरमा समेत स्थान पक्का गरेको छ । यस्तै कन्चनरुप राइनोजले पनि सबै ५ खेल खेल्दा ३ जित १ हार र १ नतिजाविहीन खेलपछि ७ अंक बटुल्दै दोस्रो स्थानमा छ ।

कन्चनरुपले पनि प्लेअफ खेल्ने पक्का भइसकेको छ । अंक तालिकामा तेस्रो स्थानमा रहेको तिरहुट टाइगर्सले पनि प्लेअफमा स्थान पक्का गरेको छ । जसको ४ खेलमा २ जित, १ हार र १ नतिजाविहीन खेलपछि ५ अंक छ ।

४ खेलमा १ जित, १ हार र दुई नतिजाविहीन खेलको अंकपछि ४ अंकसहित सनराइज एघार तिलाठी कोइलाडी चौथो स्थानमा छ ।

एक खेल खेल्न बाँकी रहेको राजविराज राजदेवी एघारको ४ खेलमा १ जित र ३ हार पछि २ अंक छ । तिलाठी कोइलाडी र राजविराज राजदेवीको प्लेअफ सम्भावना कायमै छ । चारवटै खेलमा हार पछि अंकविहीन बलान बिहुलको प्लेअफ सम्भावना समाप्त भइसकेको छ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार लिग चरणको अन्तिम दुई खेल हुनेछन् । बिहान ९ बजे तिरहुट टाइगर्स र बलान बिहुल सुपर किंग्स तथा दिउँसो १ः३० बजे राजविराज राजदेवी एघार र सनराइज एघार तिलाठी कोइलाडी प्रतिस्पर्धा गर्नेछन् ।

राउन्ड रोबिन लिगअन्तर्गत सञ्चालन भइरहेको लिगअन्तर्गत सबै टिमले एक अर्कासँग १/१ खेल खेलिसकेपछि समूहको शीर्ष–४ टिमबीच प्लेअफमा प्रतिस्पर्धा हुनेछ ।

जेठ २८ गतेसम्म आयोजना हुने प्रतियोगितामा ६ टिम सहभागी छन् । कन्चनरुप राइनोज, छिन्नमस्ता लायन्स, बलान बिहुल सुपर किंग्स, राजविराज राजदेवी एघार, तिरहुत टाइगर्स र सनराइज एघार तिलाठी कोइलाडी लिगमा सहभागी छन् ।

प्रकाशित मिति: २०२४-०६-०६ , समय : १५:५१:१९ , ६ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित