मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार बन्ने : पाँच दलले गरे सहमति
मिति: २०२४-०५-३० , समय : २३:११:३५ , गामघर डेस्क
मिति: २०२४-०५-३० , समय : २३:११:३५ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
उपेन्द्र यादव नेतृत्वको पार्टी जसपा नेपाल संघ सरकारबाट बाहिरिएसँगै अस्थिर बनेको मधेश प्रदेश सरकारको नेतृत्व अब जनमत पार्टीले गर्ने भएको छ। आज साँझ मधेस प्रदेशको राजधानी जनकपुरधाममा पाँच दलले मधेश प्रदेशमा जनमत पार्टीको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरेका हुन्।
एमाले, माओवादी, जनमत, लोसपा र एकीकृत समाजवादीका नेताले जनमत पार्टीको नेतृत्वमा सरकार बनाउने निर्णय गर्दै सहमतिपत्र सार्वजनिक गरेका छन्।
पाँच दलको सहमतिअनुसार अब जनमत पार्टीको मधेश प्रदेश संसदीय दलका नेता महेशप्रसाद यादव मुख्यमन्त्री बन्नेछन्।
सहमतिपत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव, जनमत संसदीय दलका नेता महेशप्रसाद यादव र माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले हस्ताक्षर गरेका छन्। सहमतिपत्रमा नयाँ सरकार निर्माणका लागि सहमत दलहरूबीचको आपसी सहमतिमा मन्त्रालयको बाँडफाँट गर्ने उल्लेख छ।
यस्तै नयाँ सरकार गठन प्रक्रियामा सकारात्मक अन्य दलहरूलाई पनि सहभागी गराउन संवाद अगाडि बढाउने निर्णय भएको सहमतिपत्रमा उल्लेख छ।
प्रकाशित मिति: २०२४-०५-३० , समय : २३:११:३५ , ७ महिना अगाडि