मधेस प्रदेश : प्रहरीकाे मोस्ट वान्टेड सुचिमा रहेका गिरी १५ वर्षपछि पक्राउ

मिति: २०२४-०५-२४ , समय : १०:४२:०० , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । मधेस प्रदेशको पर्साको प्रहरीले कुख्यात अपराधी तथा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका प्रेम गिरीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल लगायत भारतका विभिन्न राज्यमा अपराध गरी भारतीय प्रहरी लगायत नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गिरीलाई पक्राउ गरेको हो ।
पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर–५ घर भएका प्रेम गिरीलाई शाखा अधिकृतको हत्या भएको १५ वर्षपछि पक्राउ गरिएको पर्साका एसपी कुमोध ढुङ्गेलले बताए । अहिले ७२ वर्षका आरोपीले तत्कालीन शाखा अधिकृत मोहनप्रसाद मैनालीलाई गोली हानेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । २०६५ असोज २२ मा मैनालीको हत्यापछि उनी फरार थिए ।२०५७ भदौमा पर्साको विन्दवासिनी गाविस–४ स्थित देवेन्द्रप्रसाद यादवको घरमा डकैती गरेर उनलाई गोली प्रहार गरेर हत्या गरेको घटनामा पनि गिरी संलग्न रहेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् ।जिल्ला प्रशासन कार्यालय पर्सा र पुनरावेदन अदालत हेटौँडाको फैसला अनुसार उनी ३ वटा हातहतियार तथा खरखजाना मुद्दामा संलग्न थिए । २०५६ मा पर्सा प्रहरीले उनीविरुद्ध सार्वजनिक अपराध मुद्दामा कारबाही गरेको अपराध रेकर्ड भेटिएको छ । पर्साका प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार कुख्यात अपराधीको नाममा परिचित रहेका गिरी पर्साको कुहडीका पन्नालाल सनारको पत्नीको कर्तव्य ज्यान मुद्दामा फरार लगायत अपहरण, डकैती मुद्दामा पनि फरार रहँदै आएका थिए ।जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको आरोपमा अदालतबाट म्याद थप अनुमति लिई उनी माथि अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।

प्रकाशित मिति: २०२४-०५-२४ , समय : १०:४२:०० , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित