जसपा फुट्याे : आधिकारिकता दाबी गर्दै अशाेक राई समूह निर्वाचन आयाेगमा

सात सांसद र २९ केन्द्रीय सदस्यसहित निर्वाचन आयोगमा निवेदन पेस

मिति: २०२४-०५-०५ , समय : १९:१२:११ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) फुटेको छ । पार्टीका नेता अशोक राई नेतृत्वको समूहले आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएको छ ।

यसअघि जसपा फुटेर महन्थ ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बनेको थियो । त्यस्तै बाबुराम भट्टराईले पनि जसपाबाट अलग भएर नेपाल समाजवादी पार्टी (नेसपा) बनाउनुभएको थियो ।

प्रतिनिधि सभामा जसपाका १२ जना सांसद छन् । उनीहरूमध्ये सात जना आफ्नो पक्षमा रहेका राई समूहले दाबी गरेको छ । जसपाका अध्यक्ष उपेन्द्र यादव स्वास्थ्य तथा जनसङ्ख्या हुनुहुन्छ । उहाँ अहिले विदेश भ्रमणमा रहनुभएको छ ।
नयाँ दलमा अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठ, रन्जु झा, वीरेन्द्र महतो, बहालवाला वनमन्त्री नवलकिशोर साह सुडी र समानुपातिक सांसद हसिना खान छन्। २९ जना केन्द्रीय समिति प्रस्ताव गरिएको छ। बाँकी सदस्य पछि थपिनेछ। 

नेतृत्व एकलौटी रूपमा चलेकाले जसपा नेपालबाट अलग परेको सांसद यादवले बताए। ‘आसन्न महाधिवेशनका लागि अध्यक्ष एकलौटी ढंगले चल्नुभयो। आफूखुसी सदस्यता बाँड्ने, सरसल्लाह नगर्ने, सांसदहरूको मानमर्दन गर्ने, अवसरको न्यायोचित वितरणभन्दा पनि गणेश परिक्रममा धेरै ध्यान दिने, काम गर्नेलाई पाखा गर्ने व्यवहार भएकाले अलग हुनुपर्‍यो,’ उनले भने। 

सांसद यादवले नयाँ दलले अहिलेकै गठबन्धनलाई समर्थन गर्ने बताए। ‘सत्तागठबन्धनमा कुनै फेरबदल हुँदैन। यसलाई नै समर्थन गर्छाैं,’ उनले भने। नयाँ दलले मधेश, पहाड र हिमालका सबैलाई समेटेर देशको हितमा काम गर्ने यादवको भनाइ छ।

सांसद सुशीला श्रेष्ठले पार्टीभित्र आन्तरिक लोकतन्त्र अभ्यास नभएकाले अलग्गिनुपरेको बताइन्। ‘मूल अध्यक्ष सरकारमै हुनुहुन्छ। गठबन्धनले हामीलाई कसरी हेर्छ, त्यसपछि हुन्छ। पहिला आफ्नो खुट्टामा उभिन्छौँ,’ उनले भनिन्।

प्रकाशित मिति: २०२४-०५-०५ , समय : १९:१२:११ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित