मधेस प्रदेश : आठ हजार जनाभन्दा धेरै बालबालिका अझै विद्यालय बाहिर

मिति: २०२४-०४-२२ , समय : २१:५२:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम । देशव्यापी रूपमा भर्ना अभियान सञ्चालन भइरहँदा सर्लाहीमा विद्यालय उमेरका आठ हजार जनाभन्दा धेरै बालबालिका विद्यालय बाहिर रहेको पाइएको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीको तथ्याङ्कअनुसार तीन हजार सात सय ९७ जना बालिका र चार हजार चार सय ८० जना बालक गरी आठ हजार दुई सय ७७ जना विद्यालय उमेरका बालबालिका विद्यालय बहिर रहेका हुन् । विशेष गरेर विपन्न, दलित तथा मुस्लिम समुदायका बालबालिका विद्यालय बाहिर रहेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्राविधिक सहायक सुनिलकुमार कुशवाहले जानकारी दिनुभयो ।

तथ्याङ्कअनुसार सर्लाहीमा सबैभन्दा धेरै बरहथवा नगरपालिकामा आठ सय ३२ जना विद्यालय उमेरका बालबालिका विद्यालय नजाने गरेको पाइएको हो । समाजमा अझै पनि धेरै अभिभावकमा बालबालिका पढाउनुपर्छ भन्ने चेतना नभएको पर्सा गाउँपालिका–१ मा रहेको प्राथमिक विद्यालयका शिक्षक रामनारायण रायले बताउनुभयो । यसरी विद्यालय बाहिर रहेका बालबालिकालाई भर्ना अभियानमार्फत विद्यालयमा ल्याइने शिक्षक रायले बताउनुभयो ।

धेरै अभिभावक इँटाभट्टालगायत स्थानमा मौसमी कामदारका रूपमा जाने गर्दा पनि बालबालिका विद्यालय बाहिर रहने गरेका शिक्षा विकास तथा समन्वय एकाइ सर्लाहीका प्रमुख रामवृक्ष महतोले बताउनुभयो । रासस

प्रकाशित मिति: २०२४-०४-२२ , समय : २१:५२:०८ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित