कोशी प्रदेश : सुनसरीकाे चतराधामको कुम्भमेलामा १० दिनमा दुई लाख जना सहभागी

मिति: २०२४-०४-२० , समय : १६:२७:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सुनसरी ।
कोशी प्रदेशको सुनसरीकाे बराहक्षेत्र नगरपालिका वडा न.१ स्थित चतराधाममा सञ्चालन भइरहेको १२ वर्षे पिण्डेश्वर पूर्ण महाकुम्भ मेलामा १० दिनमा दुई लाख जनाभन्दा बढी दर्शनार्थी सहभागी भएका छन् । मूल आयोजक समितिको तथ्याङ्कअनुसार मेलामा सामान्य अवस्थामा दैनिक १५ हजारभन्दा बढी र महास्नानका बेला २५ देखि ३० हजार जना दर्शनार्थी सहभागी हुने गरेका छन् ।

एक महिनामा झन्डै ३० लाख जना दर्शनार्थी सहभागी हुने अनुमान गरेर त्यहीअनुरुप मेलाको व्यवस्थापन गरेको मूल आयोजक समितिका सहअध्यक्ष तथा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्कीले बताउनुभयो । सप्तकोसीमा स्नान गर्न, कुम्भको दर्शन गर्न, प्रवचन सुन्न र घुमघाम गर्न दर्शनार्थी आइरहेका छन् ।

कुम्भमा सहभागी हुन पूर्वी नेपालबाट मात्र होइन पश्चिमका बैतडी, दाङ, बाजुरा, अछाम, डडेलधुरालगायतका जिल्लाबाट मानिस आइरहेको कार्कीले बताउनुभयो । त्यस्तै मधेश प्रदेशका सप्तरी, सिरहादेखि भारतबाटसमेत उल्लेख्यरूपमा दर्शनार्थी आइरहेको आयोजकको भनाइ छ । यता विश्वकै प्रसिद्ध बाबा धिरेन्द्र शस्त्रिकाे अावगमनले पनि यश बर्ष भक्तजनहरुकाे भिड बढेको स्थानियहरु बताउँछन् ।
टाढादेखि आउने दर्शनार्थीका लागि खाना र बस्नको व्यवस्था मिलाइएको छ । त्यस्तै यातायात, पार्किङ, पानी, शौचालय जस्ता आधारभूत कुराको उचित व्यवस्थापन गरिएकाले अधिकांश दर्शनार्थी सन्तुष्ट देखिएको सहअध्यक्ष तथा मेयर कार्कीको भनाइ छ । रासस

प्रकाशित मिति: २०२४-०४-२० , समय : १६:२७:३७ , ८ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्