मधेस प्रदेश : पानीको मुहान सुक्दै गएपछि तराईमा सङ्कट बढ्दै, पहिले पानी नै पानी हुने ठाउँ अहिले सुक्खा

मिति: २०२४-०४-११ , समय : १६:०९:३१ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
मधेस प्रदेशको महोत्तरीमा मुहान सुक्दै गएपछि पानीको सङ्कट बढ्दै गएको छ । गएको फागुन अन्त्यदेखि नै बढ्दै गरेको पानीको हाहाकार झन् चर्किँदै गएपछि महोत्तरीका बासिन्दा चिन्तित बन्न थालेका छन् ।

अहिले नै पानी नपाइँदा अब वैशाख, जेठको प्रचण्ड गर्मीमा के होला भन्ने चिन्ताले यहाँ सर्वसाधारण पिरोलिएका छन् । जरुवा सुकेको छ, इनारमा पानीको सतह गहिरिँदै छ, खानेपानीका धारा चल्न छाडेका छन् ।

बाह्रै महिना पानी चल्ने जुडी जरुवामा अहिले पानीको हाहाकार भएको बर्दिवास नगरपालिका–१२ का सामाजिक, राजनीतिक कार्यकर्ता ७५ वर्षीय प्रमोदकुमार सिंहले गुनासो गर्नुभयो । यसैगरी जोकाहा जरुवा सुकेको पनि पाँच वर्ष नाघिसकेको पलारका ८० वर्षीय चौठी बाँतरले बताउनुभयो । केही वर्षअघिसम्म जोकाहा भूलकै बाँधबाट एक सय बिघाभन्दा बढी जग्गामा सिँचाइ पुग्ने गरेकोमा देख्दादेख्दै अहिले सबै कथाजस्तो भएको उहाँले सुनाउनुभयो ।

महोत्तरीका जिबछी, कुटमेश्वरी, पानीखोल्सी, हर्दी, झिल र भुताहासहितका भुलभुले पानीका जरुवा सुकिसकेका छन् । महोत्तरीका दक्षिणी भेगका पोखरीमा अझै केही पानी देखिए पनि उत्तरी क्षेत्रमा नामनिसान देखिँदैन । पोखरी, खाल्डा सबै सुकेपछि गाईवस्तुलाई नुवाइधुवाइ गराउन छोडेको भङ्गाहा नगरपालिका–४ रामनगरका ६० वर्षीय महारुद्र चौधरी थारुले भन्नुभयो ।

सामान्यतया प्रत्येक वर्षजसो वैशाख/जेठमा पानीको सङ्कट झेल्दै महोत्तरीको उत्तरी क्षेत्रका बासिन्दा यसपालि भने फागुन अन्त्यदेखि नै पानी कम हुन थालेपछि ठूलो खडेरी पर्नसक्ने चिन्ताले पिरोलिएका छन् । रासस

प्रकाशित मिति: २०२४-०४-११ , समय : १६:०९:३१ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित