राष्ट्रपति रामचन्द्र पौडेलद्वारा सप्तरीको छिन्नमस्ता भगवतीकाे पुजापाठ : कोशी-कमला डाइभर्सन छिटो सञ्चालन गर्न आग्रह
मिति: २०२४-०४-०९ , समय : १३:०५:२० , गामघर डेस्क
मिति: २०२४-०४-०९ , समय : १३:०५:२० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । राष्ट्रपति रामचन्द्र पौडेलले कोशी-कमला डाइभर्सन छिटोभन्दा छिटो सञ्चालन गर्न नेपाल सरकारसँग आग्रह गरेका छन् । सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित मुलुककै प्रसिद्ध छिन्नमस्ता भगवती मन्दिरमा मंगलबार पूजापश्चात् आयोजित अभिनन्दन कार्यक्रममा राष्ट्रपति पौडेलले यस्तो आग्रह गरेका हुन । राष्ट्रपति पौडेलले कृषि क्रान्ति हुने सप्तरीलगायतका जिल्लाहरू सुक्खाको समस्याबाट जुधिरहेको अवस्थामा कोशी–कमला डाइभर्सन सञ्चालन भए सुक्खाको समस्या समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
सप्तरी पुरानो र इतिहास बोकेको जिल्ला भएको बताउँदै राष्ट्रपति पौडेलले १९४७ को भारतीय स्वतन्त्रता आन्दोलनको वेला भारतीय नेताहरू जयप्रकाश नारायण र राममनोहर लोहियालगायतलाई हनुमाननगर जेल तोडेर मुक्त गराएको इतिहाससमेत स्मरण गराउनुभयाे ।
मधेशको पुरानो र ऐतिहासिक सप्तरी जिल्ला पछिल्लो समय पछाडि परेको बताउँदै राष्ट्रपति पौडेलले राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालसहित सप्तरीको समग्र विकासका लागि आफू सप्तरीवासीको साथमा रहेको र सप्तरी आफ्नो मुटुबाट नहट्ने बताउनुभयाे ।
नेपाल र भारतका लाखौँ भक्तजनले श्रद्धा, सम्मान र सुरक्षाको अनुभूति गर्ने स्थल छिन्नमस्ता भगवती मन्दिर रहेको बताउँदै राष्ट्रपति पौडेलले राष्ट्रपतिको हैसियतमा आफू पहिलोपटक छिन्नमस्ता भगवतीको दर्शन गर्न पाउँदा खुसी लागेको बताउनुभयाे ।
सो अवसरमा सप्तरीको छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी र उपाध्यक्ष राजोदेवी यादवले अभिनन्दनपत्र, दोसल्ला र मिथिलाको पाग लगाएर सम्मान गरेका थिए ।
यता हेलिकोप्टरबाट पत्नीसहित छिन्नमस्ता आएका राष्ट्रपति पौडेललाई प्रतिनिधिसभा सदस्यद्वय दिनेशकुमार यादव र तेजुलाल चौधरी, प्रदेश सभा सदस्य नीलम रजक, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरी, प्रमुख जिल्ला अधिकारी किरण थापा, सप्तरीका पालिका प्रमुखहरूले स्वागत गरेका थिए । राष्ट्रपति पौडेलले छिन्नमस्ता मन्दिरमा विधिपूर्वक पूजा गरेका छन् ।
प्रकाशित मिति: २०२४-०४-०९ , समय : १३:०५:२० , ९ महिना अगाडि