मधेस प्रदेश : सिरहाको लहान नगरपालिकाले बुझायो किसानको कृषि महसुल

मिति: २०२४-०४-०६ , समय : २१:०७:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा । मधेस प्रदेशको सिरहाको लहान नगरपालिकाले नगरभित्रका किसानले सिँचाइका लागि प्रयोग गर्दा लागेको कृषि विद्युत् महसुल बुझाएको छ । गत आर्थिक वर्षमा जम्मा एक हजार दुई सय ३४ जना किसानले प्रयोग गरेका कृषि महसुलबापतको १४ लाख आठ हजार रुपैयाँ नगरपालिकाले विद्युत् प्राधिकरणलाई बुझाएको हो ।

आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्युत् प्राधिकरण लाहान वितरण केन्द्रका लेखा प्रमुख जितेन्द्र झालाई चेक हस्तान्तरण गर्दै किसानलाई कृषि पेसामा आकर्षित गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । पालिकाले गत असारमा सम्पन्न नगरसभाबाट कार्यविधि पास गरी प्रमाणीकरण गरेको भए पनि लेखा तथा प्रशासकीय प्रमुख नियमित नहुँदा भुक्तानीमा ढिलाइ भएको नगरप्रमुख चौधरीले जानकारी दिनुभयो ।

उहाँले चालू आर्थिक वर्षमा सात सय जना किसान थप हुने भन्दै आगामी दिनमा नगरभित्रका बाँकी किसानलाई पनि योजनामा समेट्दै जाने बताउनुभयो । लामो समय खडेरी पर्दा किसानले भूमिगत सिँचाइको सहयोगमा खेतीपाती गर्ने गरेका छन् । यस्तो बेलामा नगरले विद्युत् महसुल तिरेर किसानलाई राहत दिएको उनीहरुको भनाइ छ । रासस

प्रकाशित मिति: २०२४-०४-०६ , समय : २१:०७:०८ , ९ महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्