मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारी सहित तीन प्रदेशका नवनियुक्त प्रमुखले लिए शपथ : मधेशमा कांग्रेसका मन्त्रीलाई राजीनामा गराउने मुख्यमन्त्रीको तयारी

मिति: २०२४-०३-१३ , समय : २२:३४:५४ , शुभ नारायण यादब

शुभ नारायण यादब

काठमाडौं ।
मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रमुखहरूले शपथग्रहण गरेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेशप्रमुखलाई बुधबार अपराह्न पद तथा गोपनीयताको शपथ गराएका हुन्। 

राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मधेश प्रदेशका प्रमुख सुमित्रा भण्डारी, गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्ट र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँलाई पद तथा गोपनीयताको शपथ गराए।
२८ फागुनमा बसेको मन्त्रिपरिषद्को निर्णय र सिफारिसअनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १६३ को उपधारा (२) अनुसार आज उनीहरूलाई प्रदेश प्रमुखमा नियुक्त गरेका थिए। 

शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति थियो।

यता काठमाडौंबाट फर्केका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाली कांग्रेसका मन्त्रीलाई राजीनामा गराउने तयारी गरेका छन् ।

बिहीबार एमालेसँग सरकारमा सहभागिताबारे छलफल गर्ने र नवनियुक्त प्रदेश प्रमुख सुमित्रा सुवेदी आएपछि मन्त्रिपरिषद पुनर्गठन गर्ने उनले बताए ।

‘भोलि एमालेसित छलफल गर्छु । नवनियुक्त प्रदेश प्रमुख आउनुभएको छैन, आएलगत्तै सरकार पुनर्गठन गर्छौं’ मुख्यमन्त्री यादवले भने ।

मुख्यमन्त्री यादवले कांग्रेस मन्त्रीलाई बर्खास्त नगरी आफैं राजीनामा दिन लगाउने तयारी गरेका छन् । स्रोतका अनुसार केन्द्रमा सत्ता गठबन्धनमा नरहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई भने मधेश सरकारमा यथावत राख्ने मुख्यमन्त्री यादवको तयारी छ ।

१४ सदस्यीय मन्त्रिपरिषदमा जसपाका मुख्यमन्त्री बाहेक तीन मन्त्री र एक राज्यमन्त्री छन् । कांग्रेसका तीन, माओवादी केन्द्रका एक मन्त्री र एक राज्य मन्त्री, लोसपा र नेकपा एकीकृत समाजवादीको एक–एक मन्त्री छन् ।

९ माघमा जनमतले छाडेको दुई मन्त्रालय पनि मुख्यमन्त्री यादवसँगै छ । अब एमालेलाई कांग्रेसको भागमा रहेको तीन मन्त्रालय दिने र जनमतले छाडेको दुईमध्ये एक मन्त्रालय माओवादी केन्द्रलाई थप्ने मुख्यमन्त्रीको तयारी रहेको उनीनिकट स्रोतको दाबी छ ।

१०७ सदस्य मधेश प्रदेशसभामा सबभन्दा ठूलो दल रहेको एमाले सभामुखसहित २४, जसपाका १९, माओवादी केन्द्रका ९ र एकीकृत समाजवादीको ७ सिट छ । सरकारको बहुमतका लागि ५४ आवश्यक पर्छ । तर सत्ता गठबन्धन दलसँग आवश्यक बहुमत छ।

प्रकाशित मिति: २०२४-०३-१३ , समय : २२:३४:५४ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित