सप्तरीमा एक जना युवक मृत फेला , सिरहामा होटेल भित्रै एक जना महिलाको हत्या

मिति: २०२४-०३-०९ , समय : १६:०९:१६ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीको तिलाठी कोइलाडीमा मोटरसाइकलसहित एक जनाको शव फेला परेकाे छ। जिल्लाकाे तिलाठी कोइलाडी गाउँपालिका वडा न.१ स्थित पुलमुनि राजविराज नगरपालिका वडा न.१६ बाेरियाका राजेशकुमार यादव मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको हो ।

शवसँगै मोटरसाइकल पनि भेटिएकाले दुर्घनामा परेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यता मृतक युवकको शव राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको तथा घटनाको थप अनुसन्धान भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।

यस्तै सिराहाको गोलबजारमा होटेल संचालिका एक महिलाको हत्या भएको छ । गोलबजार नगरपालिका ६ की ३५ वर्षीया अनिता कुमारी साहको गएराति हत्या भएको हो ।

स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर पछिल्लो एक वर्षदेखि होटल सञ्चालन गर्दै आएका थिए । राति २ बजे राति अनिता घरभित्रै मृत फेला परेको सिरहाका एसपी सन्तोष आचार्यले बताए । उनका अनुसार सिलौटाको मसाला पिँध्ने लोढी (ढुंगा)ले मुखमा हिर्काएको जस्तो देखिएको छ ।

मृतकका पति महेन्द्र कुमार साह पनि घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । उनको स्थानीय स्तरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी उदयभार द्वीवेदीले जानकारी दिए ।

यता संकास्पद दुईजनालाई नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

प्रकाशित मिति: २०२४-०३-०९ , समय : १६:०९:१६ , 1 year अगाडि