भारतीय गायक पंकज उदासको ७२ वर्षको उमेरमा निधन
मिति: २०२४-०२-२६ , समय : १७:४७:२० , गामघर डेस्क
मिति: २०२४-०२-२६ , समय : १७:४७:२० , गामघर डेस्क
गामघर डेस्क
काठमाडौं । भारतीय गायक पंकज उदासको सोमबार ७२ वर्षको उमेरमा निधन भएको छ । उनको निधनको जानकारी छोरी नायबले सामाजिक सञ्जालमार्फत दिएकी छन् । गायक उदास केही दिनदेखि बिरामी थिए ।
मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा सोमबार बिहान ११ बजे गायक उदासको निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । गजल ‘चिठी आई है’बाट उनले निकै चर्चा पाएका थिए ।
उदासको जन्म १७ मे १९५१ मा गुजरातको जेतपुरमा भएको थियो । उनी आफ्ना तीन भाइमध्ये कान्छा थिए । पंकजले सुरुमा गायनमै करिअर बनाउने सोचेका थिएनन् । त्यसबेला भारत र चीनबीच युद्ध चलिरहेको थियो ।
भारतीय सिनेमा र पप संगीतको उनको योगदान असाधारण मानिन्छ । सन् १९८० मा रिलिज भएको एल्बम ‘आहत’बाट उनी चर्चित भए । त्यसपछि उनले मुकरार, तरन्नुम र मेहफिलजस्ता हिट गीत दिए । सन् २००६ मा पद्मश्री पुरस्कार प्राप्त गरे ।
फिल्म ‘घायल’का लागि उनले सन् १९९० मा लता मंगेशकरसँग ‘माहिया तेरी कसम’ गीत गायनमा सहकार्य गरेका थिए । फिल्म ‘मोहरा’मा उनले साधना सरगमसँग मिलेर गाएको गीत ‘ना कजरेकी धार’ अर्को हिट गीत हो । एजेन्सी
प्रकाशित मिति: २०२४-०२-२६ , समय : १७:४७:२० , ११ महिना अगाडि