अपहरणकारीको अखाडा बन्दै मधेस प्रदेशका जिल्लाहरु : सिमापारी भारतीय बजारमा समेत त्रास

मिति: २०२४-०२-१२ , समय : २१:४७:५१ , शैलेन्द्र महताे क्रान्ति

शैलेन्द्र महताे क्रान्ति

जनकपुरधाम ।
अपहरणकारी : कब देरहे है तीन करोड ?

पीडित परिवार : सर हम सिर्फ ५० लाख देसकते है ।
अपहरणकारी : हम भीख मांग रहेहै । लो आपके बेटा आपसभसे अन्तिमबार बात करनेके लिए, चाहरहा है । बात किजिए । इकसेबाद आपके बेटा कभी नही मिलेंगा । मार कर कहीँ दफना देंगे ।

आमा : हमरा बेटा के ओना नकरब । हमरा जतना भेल, ओतना कोसिस कैली ।

अपहरणकारी : हम कहरहेहै तीन करोड, आपलोग कहरहे हैं, ५० लाख । हम क्या भीख मांग रहे हैं ?

आमा : हम अपन बेटाके बचाबे खातिर सभचिज बेच देलियै । साराचिज बिकागेलै कहाँ से होतै बताउन ?

अपहरणकारी : बात किजिए अपना बेटा से । बात करो लो । (अपहरनकारी छोरासित आमालाई कुरा गर्न भन्छन् ।

अपहरणमा परेका अभिशेक : मा देदिजिए न, यो लोग जो मांगरहा है सभ देदिजिए । पापाको सम्झाओ । जो मांगता है, ओ दे देनेके लिए । नही तो यो लोग मुझे मार देगा (रुँदै बिलाप गर्छन्)
आमा : ठीक छै बाबु । हम अपना जानके त बहुत कोसीस करहल छी । मुदा नहोपारहल ह बाबु । ठीक है बउवा । निमन से रह… (आमा छोरालाई सम्झाउँदै भक्कानिन्छन्)

मैथिली र हिन्दी भाषमा फोनमा भएको यो संवादको अंश हो अपहरणमा परेका अभिषेक कुमारका परिवार र अपहरणकारीको छ । गत माघ २६ गते (जनवरी ३० तारिख) साँझ अपहरणमा परेका भारतको बिहार सितामढी जिल्लाको सोनवरसा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमारका परिवार र नेपाली भूमिमा रहेका अपहरणकारीको फोन संवाद पटक पटक झण्डै १० दिनसम्म चल्यो । लामो समयसम्म संवाद चलेपनि नत नेपाल प्रहरी अपहरणकारीको स्थल पत्ता लगाउन सके, नत भारतीय प्रहरी ।
महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लका अनुसार सर्लाहीकै सीमाबाट अभिषेकलाई अहरणकारी लिएर नेपाल छिरेका थिए ।

लामो समय फिरौती नदिए छोराको ज्यान लिने खतरा देखेपछि परिवारजन अपहरणकारी समक्ष निरीह बन्न पुगे । छोराको ज्यानको भीख मागे । ६५ लाख रुपैयाँ दिए मात्र मुक्त गरिदिने अडानमा रहेका अपहरणकारी अन्ततः ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर अपहरण मुक्त गर्न समहमत भए । त्यो रकम दुई पटकमा लिएर छाड्ने वाचा गरे । प्रहरीलाई जानकारी दिएर कुनै चालाखी गरे छोरालाई मारेरै फालिदिने चेतावनी थियो परिवारलाई ।

एक सातासम्म भारतीय र नेपाल प्रहरीले केही गर्न सकेनन् । बाध्य भएर परिवारजन माघ २५ गते (फरबरी ८ तारेख)मा अपहरणकारीले भने बमोजिम पहिलो चरणमा ३० लाख भारतीय रुपैयाँ लिएर साँझ ७ बजे घरबाट निस्के । महोत्तरीको पोखरभिण्डा र सम्सी, सर्लाहीको मलंगवा र संग्रामपुर लगायतको ठाउँको लोकेसन दिएर अपहरणकारीले घुमाए । २२ किलोमिटर डुलाएपछि राति १२ बजे मात्र सर्लाहीको संग्रामपुर बोर्डर नजिक झाडीमा पैसा फाल्न लगाए । त्यहाँबाट अपहरणकारीले पैसा लगे ।

त्यसपछि अपहरणकारी माघ २६ गते (फरबरी ९ तारेख) को बिहान १० बजे फोन गरेर २० लाख लिएर सर्लाहीको बोर्डर छेउमा आउन भन्यो । साँझ पैसा लिएर हिडेका परिवार भने बमोजिम ठाउँमा पैसा पुर्याए । सोमबार बिहान २ बजे आँखामा पट्टी बाँधेर सर्लाहीको संग्रामपुर स्थित बोर्डरमा सयमिटर पर नेपाली भूमिमा अभिषेकलाई अपहरणकारीले मुक्त गरे ।

अपहरणमुक्तपछि भारतीय प्रहरीलाई अभिषेकले दिएको बयान अनुसार अपहरणकारी एकघण्टा गाडी चलाएपछि सीमामा पुर्याएर छाडेको थियो । त्यसअघि नेपालकै विभिन्न स्थानमा राख्यो । जंगलमा समेत पुर्याए राखेको थियो । हिन्दी, मैथली र नेपाली भाषामा समेत बोल्ने गरेकाले उनीहरु सबै नेपाली नै थिए भन्ने अभिषेकको बयान छ । अभिषेक अपहरणमा परेदेखि २५ मिनेटसम्म लामो कुराकानी गरेपनि प्रहरी उनीहरु समक्ष पुग्न असफल रहे ।

सर्लाही प्रहरीका एसपी प्रविण धिताल नेपालमा एकएक घण्टा कुरा गरे पनि लोकेसन र कलडिटेल निकाल्न समस्या हुने बताउँछन् ।
‘नेपालमा एकघण्टा पनि कुरा गरेपनि लोकेसन, कल डिटेल्स केही आउँदैन । अदालतको प्रोसेसमा जानु पर्ने । अदालतमा माग्नु पर्ने । कानुनी प्रक्रियामा गएर ६।७ दिन लागिहाल्छ । यो कुराले तत्कालै गर्नुपर्ने अनुसन्धानमा बाधा पुगेको छ । तब सम्म अर्को घटना भइ हाल्छ’ एसपी धिताल भनछन् ।

सोनवर्षा बजारका इँट्टा भट्टा व्यवसायी अभिषेक बुबा विजय प्रसाद सित साँझ घर फर्किरहेका बेला अपहरणमा परेका थिए । भोलि पल्ट माघ १७ गते ( जनवरी ३१ तारेख) बिहान अपहरणकारीको पीडितकै नम्बरबाट पहिलो फोन गरेको थियो । परिवारसित कुरा गर्ने बेला हातहतियार देखाउँदै, अपहरणकारीले कुटपिट समेत गर्ने गरेको बयान भारतीय प्रहरीलाई अभिषेकले दिएको श्रोतले जनाएको छ ।

अपहरणकारीलाई पत्ता लगाएर बन्धक मुक्त गराउन भारतीय प्रहरी नेपाल प्रहरीलाई समन्वय गरेको थियो । जसको लागि बिहारका आईजिपी शिवदीप बावन राउ लाण्डे र सीतामढी जिल्लाका एसपी मनोज कुमार तिवारी पटक पटक भीठामोड र मलंगवा स्थित बोर्डरमा पुगेर नेपाल प्रहरीसत समन्वय गरेका थिए ।
तर, नेपाल प्रहरीले अपहरणकारीको लोकेसन नै ट्रयाक गर्न सकेनन् । अपहरणकारीले महोत्तरीको सम्सी, पोखरभिण्डा, रघुनाथपुर र सर्लाहीको संग्रापुर लगायत स्थानलाई अखाडा बनाउँदै गएका छन् । उनीहरुले गर्ने फोनको लोकेसन पनि यी ठाउँहरु नै देखाउँने गरेको प्रहरीहरु बताउँछन् ।

यो अपहरण काण्डमा महोत्तरी र सर्लाही प्रहरीले सकेजति सहयोग नगरेको भारतीय प्रहरीको गुनासो छ । यधपी महोत्तरी र सर्लाही प्रहरीले आफूहरु यो घटनामा अपहरण मुक्त गराउन कुनै कसर बाँकी नछाडेको दावी गर्छन् । नेपाल प्रहरीकै दबाबले अपहरणकारी सकुशल मान्छे अपहरण मुक्त गरेको महोत्तरीका प्रहरी उपरीक्षक (एसपी) प्रकाश मल्लको अनुमान छ ।
‘नेपाल प्रहरीकै प्रेसरले मान्छे सकुशल रिलिज गरेको अनुमान हामी गर्न सक्छौं । महोत्तरी र सर्लाही प्रहरीको सक्रियता देखेर अपहरणकारी हतोत्साहित भयो । ३ करोड फिरौंती माग्ने अपहरणकारी पछि हट्दै गयो’ एसपी मल्लले भन्छन् ‘पैसा दिने बेला परिवारजन हामीसित समन्वय गरेन । २–३ दिन अझै समय दिएको भए आरामले हामी मान्छे सकुलशलसंगै अपहरण ग्यांगलाई समात्न सक्थ्यौं । उहाँहरु हतार गर्नु पनि ठिकै थियो’

सर्लाही प्रहरीले अपहरण भएको जानकारी आउन साथ शंकास्पद ठाउँमा सर्च र संदिग्ध केही व्यक्तिलाई नियन्त्रणमा लिएको छ । ‘६ जनाभन्दा बढी शंकास्पद व्यक्तिलाई पक्राउ गरेर अनुसन्धान गर्यौं । थुप्रै स्थानमा सर्च अप्रेसन चलायौं । तर कतै फेला परेन । पक्राउ परेकाहरुको हाँगाविँगा मात्रै देखियो’ सर्लाहीका प्रहरी उपरीक्षक (एसपी) धितालले भने ‘हामी कहाँ पीडित परिवार नै आएको छैन । यो घटनाको पुरै अनुसन्धान नै गर्न बाँकी छ ।’

एक महिना अघि यही अपहरणकारी समूहले सोनवर्साकै अर्का औषधि व्यवसायी कामेश्वर रायको पनि अपहरण गरेर नेपाल ल्याएको थियो । २ डिसेम्बर २०२३ मा ठीक अभिषेककै शैलीमा घरबाट व्यवसायी कामेश्वरको अपहरण गरेका थिए । ३० लाख भारतीय रुपैया फिरौती लिएर पाँचदिनपछि ७ डिसेम्बरमा महोत्तरीको सम्सीबाट उनलाई अपहरण मुक्त गरेका थिए । पहिलाको घटनामा सम्सीबाट अपहरण मुक्त भएको महोत्तरीका एसपी मल्ल पनि स्वीकार्छन् । ती व्यवसायीलाई पनि अपहरणकारीले महोत्तरीको पोखरभिण्डा, सम्सी, संग्रापुर, रघुनथपुर र सर्लाहीको संग्रामपुर लगायतको स्थानमा राखेका थिए । अभिषेक र कामेश्वरलाई अपहरण घटनामा एउटै विधि र त्यही ठाउँहरुको प्रयोग गरेकाले अपहरण समूह एउटै रहेको प्रहरीको आशंका छ ।

महोत्तरीको सम्सी, पोखरभिण्डा, रघुनाथपुर र सर्लाहीको संग्रापुर लगायतको सीमा क्षेत्रका नेपाली भूमि अपहरणकारीका लागि सुरक्षित अखाडा बन्दै गएको छ । महोत्तरी र सर्लाही प्रहरीलाई फेरि यस्तो खालको घटना दोहरिने चिन्ता छ । यो घटनाहरुमा आफूहरु गम्भीर रहेको एसपी मल्लको भनाइ छ । ‘यो घटनाको गम्भीर रुपमा अनुसन्धान गरिरहेका छौं । अपराधी समात्छौ’एसपी मल्लले भने ।

यही आसपासमा भारती टेलिफोनको नेटवर्क काम गर्ने भएकाले अपहरणकारी आफूलाई सुरक्षित ठान्छन् । महिनामै लगातार भएको यी दुई घटनाले सीमावर्ती भारतीय बजार भीठामोड, सुरसंड र सोनवर्साका व्यवसायी त्रसित भएका छन् । अचेल उनीहरु साँझ ७ बजेसम्मै बजार व्यवसाय बन्द गर्न थालेको स्थानीय व्यवसायीहरु बताउँछन् ।

प्रकाशित मिति: २०२४-०२-१२ , समय : २१:४७:५१ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्