काठमाडौंका मेयर बालेन शाहविरुद्ध पीडितहरुको आन्दोलन : प्रदर्शनकारी भन्छन्- प्रदर्शन गर्ने ठाउँ छैन , स्मार्टसिटि काठमाडौंमा

मिति: २०२४-०२-०९ , समय : २१:४१:१३ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाडौं । काठमाडौं महानगरपालिकाले शान्ति वाटिकामा धर्ना तथा विरोध प्रदर्शन गर्न रोक लगाएको भन्दै पीडितहरु महानगरपालिकाविरुद्ध आन्दोलित भएका छन् ।

शान्ति वाटिकामा विभिन्न माग तथा मुद्दा लिएर पीडितहरुको छुट्टाछुट्टै समूह धर्ना बस्दै आएका छन् । गत सोमबार काठमाडौं महानगरले शान्ति वाटिकामा धर्नारत पीडितहरुलाई हटाएसँगै पीडितहरु आन्दोलित भएका हुन् । शान्ति वाटिकामा पीडितहरुले आज संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै आफूहरुलाई महानगरपालिकाले ज्यादति गरेको बताएका हुन् । शान्तिपूर्ण तरिकाले आन्दोलन गर्न पाउने र आफ्ना कुरा राख्न पाउने संविधानप्रदत्त अधिकारमाथि महानगरका मेयर बालेन्द्र शाहले हस्तक्षेप गरेका उनीहरुको भनाइ छ । उनीहरुले शान्ति वाटिकामा आफूहरुको धर्ना जारी रहने पनि बताएका छन् ।

२३८ दिनदेखि आरती साहको न्यायका लागि भन्दै धर्नामा बसेका आरती साहको दाजु प्रेम साहले आफूहरु हत्यारा, प्रहरी र सरकारबाट मात्रै नभई काठमाडौं महानगरका मेयरबाट पनि पीडित भएको बताए । मेयर शाहले गरिबहरुमाथि दमन र अत्याचार गरेको भन्दै उनले शान्ति वाटिका मेयर शाह र काठमाडौं महानगरपालिकाको मात्रै सम्पत्ति नभएको भन्दै आक्रोश जनाए । उनले मेयरको व्यवहार तानाशाही देखिएको र हिटलर नबन्न आग्रहसमेत गरे । उनले भने, ‘काठमाडौंका मेयरकै कारण हामीले न्यायका लागि प्रदर्शन गर्ने ठाउँसमेत पाएनौं ।’

त्यस्तै, मिटरब्याज तथा ठगीविरुद्ध किसान, मजदुर संघर्ष समिति उपत्यका सदस्य मुना केसीले गत सोमबार धर्नारत महिला तथा बालबालिकाहरुलाई नगर प्रहरीले जबरजस्ती शान्ति वाटिकाबाट निकालेर ज्यादति गरेको दाबी गरिन् । उनले महिलामाथि ज्यादति गर्ने मेयर र नगर प्रहरीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखिन् । उनले आफूहरुको आन्दोलन जारी रहेको भन्दै शान्ति वाटिका नछाड्ने स्पष्ट पारिन् । पीडितहरु महानगरको ज्यादतिपछि विचल्लीमा पर्दा पनि सरकार टुलुटुलु हेरेर बसेको उनको आरोप छ ।

त्यसैगरी विगत २५ दिनदेखि धर्नारत न्यायाधीश भुवन गिरीकी पत्नी आरती गिरीले आफूलाई न्यायालयले मर्न बाध्य बनाएको दाबी गरिन् । उनले आफूमाथि राज्यले आतंक मच्चाएको पनि बताइन् । ‘प्रमाण हुँदाहुँदै पनि बलात्कारी न्यायाधीश भुवन गिरीलाई न्यायालयले संरक्षण गरिरहेको छ,’ उनले भनिन् ।

उनले न्यायालय कहिले स्वतन्त्र र शुद्धीकरण हुन्छ ? भनेर प्रश्नसमेत गरिन् । पीडितहरुले आफूहरु शान्ति वाटिकामा बसेर विरोध प्रदर्शन गरिरहने बताएका छन् । कान्तिपुरबाट

प्रकाशित मिति: २०२४-०२-०९ , समय : २१:४१:१३ , १० महिना अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित