मधेस प्रदेशका पालिकाहरु सामाजिक सुरक्षा कोषमा आबद्ध हुन थाले
मिति: २०२४-०२-०५ , समय : १५:११:०९ , गामघर डेस्क
मिति: २०२४-०२-०५ , समय : १५:११:०९ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । मधेस प्रदेशका महोत्तरी, धनुषा र सर्लाही जिल्लाका पालिका सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीको उपस्थितिमा ती पालिकाका प्रमुख र कोषका कार्यकारी निर्देशक कविराज अधिकारीले कोषको समझदारीपत्रमा हिजो हस्ताक्षर गर्नुभएको हो । यसअघि देशभरका ४३ वटा पालिकाले कोषसँग समझदारी गरेर काम अघि बढाइसकेका छन् ।
सामाजिक सुरक्षा कोषसँग समझदारी गरेपछि विशेष गरेर तीन प्रकारले कोषका कार्यक्रम कार्यान्वयनमा अघि बढ्न सक्छन् । पालिकाले आफ्ना करारका कर्मचारीलाई कोषमा योगदान गर्ने र पालिकाभरिका श्रम ऐन लागू हुने क्षेत्रका श्रमिकलाई कोषमा आबद्ध गर्न पर्ने गरी बाध्यकारी व्यवस्था गर्न सक्छन् ।
यस्तै, पालिकाले आफ्नो अनौपचारिक क्षेत्रका श्रमिकलाई सम्बन्धित पालिकाले रकम नै हालेर पनि कोषमा आबद्ध गराउन सक्छन् । सामाजिक सुरक्षा कोषबाट औषद्योपचार, स्वास्थ्य र सुरक्षित मातृत्व सुरक्षा, दुर्घटना तथा अशक्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना र वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्ताले सुविधा पाउने कोषले जनाएको छ ।
प्रकाशित मिति: २०२४-०२-०५ , समय : १५:११:०९ , १२ महिना अगाडि