सप्तरीमा उपेन्द्र यादव आउने कार्यक्रम रोक्न गृह मन्त्रालयलाई डा. सीके राउतको पत्र
कृषि विश्वविद्यालयको कार्यक्रम सफल पार्न मुख्यमन्त्री यादवको अपिल
मिति: २०२४-०१-२२ , समय : ११:०४:५० , गामघर डेस्क
मिति: २०२४-०१-२२ , समय : ११:०४:५० , गामघर डेस्क
गामघर डेस्क
राजविराज । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले सप्तरीमा अाज सोमबार हुने कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम स्थगित गर्न गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।
जिल्लाको शान्ति सुरक्षा कायम राख्न शिलान्यास कार्यक्रम स्थगित गर्न राउतले गृह मन्त्रालयमा पत्र पठाएका हुन् । ‘इमेलबाट गृह मन्त्रालयलाई पत्र पठाएका छौं, सप्तरी जिल्ला प्रशासनलाई पनि बोधार्थ दिइएको छ’, केन्द्रीय सचिव बीपी साहले भने ।
जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राजविराजमा भोलि कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम तय भएको छ । उक्त कार्यक्रम रोक्न भन्दै मधेश प्रदेश सरकारमा शिक्षा तथा संस्कृति मन्त्री रहेका जनमत पार्टीका नेता महेशप्रसाद यादवले पनि वक्तव्य जारी गरेका छन् ।
‘कार्यक्रम नरोकेमा कुनै किसिमको अप्रिय घटना घटेमा त्यसको जिम्मेवारी मन्त्रालय नहुने विश्वविद्यालयको भिसी, रजिष्ट्रार हुने जानकारी समेत गराउन चाहन्छु’, मन्त्री यादवले जारी गरेको बक्तव्यमा उल्लेख छ ।
यसअघि आइतबार नै शिल्यान्यास रोक्नुपर्ने मागसहित विश्वविद्यालयमा जनमतका कार्यकर्ताले ताला लगाएका छन् । तर शिल्यान्यास कार्यक्रम नरोकिएपछि जनमतका अध्यक्ष राउतले गृह मन्त्रालयलाई पत्र लेखेका छन् ।
कृषि विश्वविद्यालय रहेको निर्वाचन क्षेत्र (सप्तरी–२) बाट राउतले अध्यक्ष यादवलाई गत वर्षको चुनावमा जितेका थिए ।
यता मधेश प्रदेशका मुख्यमन्त्री एवम् मधेश कृषि विश्वविद्यालयका कुलपति सरोजकुमार यादवले कृषि विश्वविद्यालयको पूर्वनिर्धारित भवन शिलान्यास कार्यक्रममा सहभागी हुन सबैमा अपिल गरेका छन् ।
कार्यक्रममा सहभागी हुन राजविराज आएका मुख्यमन्त्री यादवले आज विहान सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यस्तो अपिल गरेका हुन् ।
सप्तरीको राजविराज नगरपालिका वडा न.१३ स्थित आयोजना गरिएको विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम पूर्वनिर्धारित समयअनुसार नै हुन्छ’, उनले भने ।
मुख्यमन्त्री यादवले शिलान्यास कार्यक्रम शान्ति पुर्ण रुपमा सफल बनाउन पनि सबैमा आग्रह गरे । ‘कृषि विश्वविद्यालय समग्र प्रदेशकै लागि गौरवको आयोजना हो’ उनले भने, ‘त्यसै पनि कार्यक्रमलाई सफल बनाउने दायित्व र जिम्मेवारी सम्पूर्ण प्रदेशवासीको हो ।’
पूर्वनिर्धारित कार्यक्रमअनुसार आज विहान साढे ११ बजे कृषि विश्वविद्यालयको भवन शिलान्यास कार्यक्रम रहेको छ ।
प्रकाशित मिति: २०२४-०१-२२ , समय : ११:०४:५० , १२ महिना अगाडि