मधेस प्रदेश : प्रेमी भगाएपछि बिचल्लीमा परेकी मनीषा न्यायको लागि गुहार गर्दै प्रहरीमा उजुरी
मिति: २०२४-०१-१५ , समय : ०९:४४:०५ , मणिलाल विश्वकर्मा
मिति: २०२४-०१-१५ , समय : ०९:४४:०५ , मणिलाल विश्वकर्मा
मणिलाल विश्वकर्मा
लहान ।
सिराहाको गोलबजार नगरपालिका वडा न. ५ निपानेकी मनीषा महरा प्रेमी विवेक यादवलाई परिवारले भगाएपछि बिचल्लीमा परेकी छिन् । प्रेमविवाह गरी उदयपुरको गाईघाटमा एक सातासम्म मनीषालाई सँगै राखेका विवेकलाई परिवारले भगाएपछि उनी अहिले प्रहरी र विभिन्न सामाजिक संघसंस्था धाइरहेकी छिन् । ‘दुवैजना एक–अर्काविना बाँच्न सक्दैनौँ । तर, परिवारले अहिले विवेकलाई गोलबजारबाहिर लुकाएर राखेको सुनेकी छु,’ उनले भनिन्, ‘श्रीमतीका रूपमा सँगै बसिसकेकाले छुट्टिएर बस्न सक्दिनँ ।’
गत कात्तिक अन्तिम साता विवेकले मनीषालाई गाउँबाट भगाएर उदयपुरको गाईघाट लगेर राखेका थिए । छठ पर्वका वेला गाईघाट पुगेका घरपरिवारका सदस्यले विवेकलाई जबर्जस्ती आफूबाट छुट्याएर लगेका थिए । पछि उनी माइती पक्षको सहयोगमा गोलबजारमा रहेको विवेकको घरमा हप्ता दिनजति सँगै बसेकी थिइन् । ‘घर भित्र्याएपछि तल्लो जातकी केटी भन्दै उनकी आमा, दिदीलगायतले दिनहुँ कुटपिट गर्न थालेपछि बाध्य भएर माइती फर्किएँ,’ उनले भनिन् ।
घर भित्र्याएदेखि नै दिनहुँको कुटपिट सहन नसकेर फर्किएपछि माइती पक्षले छोरीलाई यातना दिएको र दलित भन्दै घर निकाला गरेको विषयमा इलाका प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरी परेपछि वडाध्यक्ष बालकृष्ण गौतमको रोहवरमा गाउँमै छलफल गरी मिलाउने मौखिक सहमतिका आधारमा गाउँमै छलफल गरिएको स्थानीय रवीन्द्र महराले बताए । उनका अनुसार छलफलमा दुवैजनाले आ–आफ्नो परिवारमै बस्ने सहमति जनाएपछि उनीहरूकै चाहनाअनुसार निर्णय भएको हो,’ उनले भने । वडाध्यक्ष गौतमले गाउँमा छलफल भएको र केटाकेटी दुवैको रायका आधारमा सहमति भएको दाबी गर्दै भने, ‘मनीषामाथि गरिएको कुटपिटको उपचारबापत २५ हजार रुपैयाँ केटा पक्षबाट दिलाइएको हो ।’
सामाजिक रूपमा गरिएको छलफलको एक साता नबित्दै पुनः विवेकले मनीषालाई भगाएर गाईघाट लगेका थिए । त्यसलगत्तै परिवारजनले विवेकलाई जबर्जस्ती गोलबजार ल्याएर मंसिरको दोस्रो सातादेखि लुकाएर राखेको उनको गुनासो छ । विवेकको परिवारले सबइन्जिनियर पढेर जागिर खाएको, तर मनीषा सामान्य लेखपढ मात्र भएकीले बुहारी नस्विकार्ने दाबी गरे पनि दलित भएकाले अस्वीकार गरेको स्थानीय अधिकारकर्मी बताउँछन् । ‘गैरदलित युवती भएको भए हो–हल्ला नै हुने थिएन । दलित समुदायको युवती भएकैले उनलाई बुहारीका रूपमा अस्वीकार गर्दै विवेकलाई लुकाइएकोे हो,’ दलित महिला केन्द्रका आनन्द पाख्रिनले भने ।
प्रकाशित मिति: २०२४-०१-१५ , समय : ०९:४४:०५ , ११ महिना अगाडि