मधेस प्रदेश : मिटरव्याज पिडितमाथि खुकुरी उज्याउनेविरुद्ध अभद्र व्यवहार मुद्दा दायर

मिति: २०२४-०१-११ , समय : ०७:४५:२२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

सिरहा ।
मधेस प्रदेशकाे सिराहाको कल्याणपुर नगरपालिका– ८ अरङका अनुचित लेनदेन (मिटरब्याज) पीडित युवकमाथि कुटपिट, दुर्व्यवहारसँगै खुकुरी उज्याउनेविरुद्ध प्रहरीले अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरेको छ । अरङ गाउँका ३५ वर्षीय सञ्जयकुमार कामतीको जाहेरीका आधारमा खुकुरी प्रहारको प्रयास गर्ने स्थानीय ६५ वर्षीय रामनारायण सिंहविरुद्ध बुधबार अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

घटनाको भोलिपल्ट मंगलबार प्रहरीले पक्राउ गरे पनि जाहेरी नपरेकाले हाजिरी जमानतमा छोडिएका सिंहलाई बुधबार पुनः पक्राउ गरी बिहीबार सिराहा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइने उनले बताए ।

घर व्यवहारका लागि कल्याणपुर– ८ मझाउका साहुकार सुरेश पञ्जियारसँग ०७२ मा तीन लाख रुपैयाँ लिएका कामतीसँग उनले १२ लाख ३० हजार रुपैयाँको दुईवटा कपाली तमसुक बनाउनुका साथै सिराहा जिल्ला अदालतमा लेनदेन मुद्दाअन्तर्गत ०७८ मा डाक लिलाम गराएर ११ कित्ताको एक बिघा एक कट्ठा खेत, एक कट्ठा ६ धुर घडेरी र टिनको छाना भएको ११ कोठाको एकतले घर हत्याएका थिए ।

आफू ऋण तिर्न तयार हुँदाहुँदै साहुकारले षड्यन्त्रपूर्वक आफ्नो जायजेथा हडपेको भन्दै पीडित कामतीले करिब एक वर्षअघि जिल्ला प्रशासन कार्यालय सिराहामा मिटरब्याजीविरुद्ध उजुरी दिएपछि साहुकार पञ्जियारले सुटुक्क १० कट्ठा खेत, १६ धुर घडेरीसहितको घर सिंहलाई बिक्री गरेको उनको गुनासो छ ।

मिटब्याजविरुद्धको उजुरीको छानबिन चलिरेहका वेला षड्यन्त्रपूर्ण ढंगले आफ्नो घर घडेरी अर्कैलाई बेचेको थाहा पाएपछि २३ पुसमा सञ्जय र उनका भाइ राजकिशोर मिटरब्याजीविरुद्धको उजुरीको निक्र्योल नभएसम्म आफ्नै घरमा बस्छौँ भन्दै आफ्नो घर जान खोज्दा सिंहसहित उनका छोरा शैलेन्द्र र भतिज नितेशले कुटपिट गर्नुका साथै सिंहले यहीँ ढालिदिन्छु भन्दै खुकुरी उज्याएका थिए । त्यतिवेला सिंहका भतिज नितेशले कम्मरमा कटुवा पेस्तोल देखाउँदै आफूमाथि कुटपिट गरेको पीडित सञ्जयको भनाइ छ ।

प्रकाशित मिति: २०२४-०१-११ , समय : ०७:४५:२२ , १ वर्ष अगाडि