आईसीसी विश्व कप क्रिकेट लिग : पछिल्ला ८ मध्ये ७ खेलमा नेपाल विजय

मिति: २०२३-०३-०७ , समय : ०६:१७:०८ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । नेपाली राष्ट्रिय क्रिकेट टाेलीले आफ्नाे उत्कृष्ट लयलाई कायमै राखेकाे छ । मुख्य प्रशिक्षकमा माेन्टी देसाई नियुक्त भएयता नेपालले उत्कृष्ट लयलाई कायमै राखेकाे हाे ।

गएकाे माघ २३ गते देसाई मुख्य प्रशिक्षकमा नियुक्त भएयता नेपालले आईसीसी विश्व कप क्रिकेट लिग–२ मा खेलेका ८ खेलमध्ये ७ वटामा जित निकालेकाे छ ।

नेपालले देसाईकाे नेतृत्वमा घरेलु मैदानमा लिग–२ अन्तर्गत ४ खेलकाे त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ वटै खेल जित्दै शृङ्खला ‘क्लिन स्वीप’ गरेकाे थियाे । नेपालले स्कटल्यान्ड र नामिबियालाई २–२ खेलमा हराएकाे थियाे । नेपालले पहिलाे खेलमा नामिबियालाई २ विकेटले, दाेस्राे खेलमा स्कटल्यान्डलाई ३ विकेटले, तेस्राे खेलमा फेरि नामिबियालाई ३ विकेटले र चाैथाे खेलमा फेरि स्कटल्यान्डलाई २ विकेटले हराएकाे थियाे ।

यस्तै नेपालले लिग–२ अन्तर्गत दुबईमा भएकाे त्रिदेशीय एकदिवसीय शृङ्खलामा ४ खेल खेल्दा ३ मा जित हात पार्‍याे । नेपालले पहिलाे खेलमा पीएनजीलाई ४ विकेटले हराएर लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाएकाे थियाे । याे शृङ्खलाकाे दाेस्राे खेलमा भने नेपाल यूएईसँग ६८ रनले पराजित भएकाे थियाे । यस्तै नेपालले तेस्राे खेलमा फेरि पीएनजीलाई ३ विकेटले र चाैथाै खेलमा यूएईलाई ४२ रनले हरायाे । नेपालले लिग–२ मा यूएईमाथि पहिलाे जित निकालेकाे हाे ।

लिग–२ मा अब बाँकी ४ खेल नेपालले घरेलु मैदानमै खेल्नेछ । नेपालले बाँकी सबै खेल जितेमा लिग–२ मा तेस्रो हुँदै साेझै विश्व कप छनाेट खेल्न पाउनेछ भने एकदिवसीय मान्यता जाेगाउन बाँकी रहेकामध्ये ३ खेल जित्दै शीर्ष ५ मा स्थान पक्का गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: २०२३-०३-०७ , समय : ०६:१७:०८ , २ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित