जनकपुरको जानकी मन्दिरमा यस वर्षकाे विवाह पञ्चमी महाेत्सव सम्पन्न
मिति: २०२३-१२-१८ , समय : २१:५६:३० , गामघर डेस्क
मिति: २०२३-१२-१८ , समय : २१:५६:३० , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । जनकपुरको जानकी मन्दिरमा विवाह पञ्चमी महोत्सव सम्पन्न भएको छ । विवाह पञ्चमी महोत्सवअन्तर्गत आज साेमवार रामकलेवा विधि सम्पन्न भएसँगै यस वर्षको विवाह पञ्चमी महोत्सव सम्पन्न भएको हो ।
विवाहपछि मिथिलाञ्चलमा बेहुलालाई खिर, मिठाईलगायतका परिकार खुवाउने परम्परा रहेको छ । याे परम्परालाई मिथिलाञ्चलमा मौहकसमेत भन्ने गरिन्छ । हिजो आइतवार राति वैदिक परम्पराअनुसार प्रतीकात्मक भगवान् राम र सीताको विवाह जानकी मन्दिरमा भएपछि आज रामकलेवा विधि गरिएको हाे ।
जानकी मन्दिरका सहायक महन्थ रामरोशन दासले रामकलेवाअन्तर्गत आज सयौँ साधुसन्तलाई ५६ व्यञ्जनको भोजन गराइएको जानकारी दिनुभयो । एक हप्तादेखि विवाह पञ्चमीका लागि भरिभराउ जनकपुरधाम गए राति सीताराम विवाह सम्पन्न भएलगत्तै श्रद्धालु भक्तजन फर्किन थालेका छन् ।
विवाह पञ्चमी महोत्सवअन्तर्गत पहिलो दिन नगर दर्शन, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव, पाँचौँ दिन मटकोर, छैँटौँ दिन स्वयम्वर र राति वैवाहिक कार्यक्रम तथा अन्तिम दिन आज रामकलेवा विधि गरी महोत्सव सम्पन्न भएको हो ।
यता जनकपुरधाममा अन्नबाट सीताराम स्वयम्बरको विश्वकै ठूलो प्रतिमा बनाउने भारतको उत्तरप्रदेशका कलाकार सतीश गुर्जर जकपुरधाममै स्वयम्बर गरेका छन् । आज जानकी मन्दिरमा भइरहेको सामूहिक विवाह समारोहमै उनले उत्तर प्रदेशकी यज्ञनी गुर्जरसंग स्वयम्बर गरेका हुन् ।
प्रकाशित मिति: २०२३-१२-१८ , समय : २१:५६:३० , १ वर्ष अगाडि