सप्तरीका अधिकाश सामुदायिक विद्यालयमा मनपरी शुल्क : राजविराजमा शुल्कबारे प्रश्न उठाउँदा प्रअ र अध्यक्षबाटै विद्यार्थी कुटिए

मिति: २०२३-१२-१४ , समय : ०९:०२:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । सप्तरीका अधिकाश सामुदायिक विद्यालयले मनपरी शुल्क असुल गरीरहेको पाइएको छ । शिक्षा विकास तथा समन्वय इकाइ राजविराजले मंगलबार एक सूचना प्रकाशित गर्दै मनपरी शुल्क नअसुल्न निर्देशन दिएको छ ।
यता सप्तरीको सदरमुकाम राजविराज नगरपालिका वडा न.१६ स्थित नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालय बोरियाका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले दुईजना विद्यार्थीलाई कुटपिट गरेका छन् । विद्यालयले अर्धवार्षिक परीक्षा र रजिष्ट्रेसन शुल्क मनपरी लिईरहेको विषयमा प्रश्न उठाउँदा कक्षा १० मा अध्यनरत विद्यार्थीद्वा विकासकुमार मण्डल र रोसन साहलाई प्रधानाध्यापक रामानन्द सुनरैत यादव र व्यवस्थापन समितिका अध्यक्ष रितेश यादवले मंगलबार विद्यालयको कार्यालय भवनमै कुटेका हुन् । विद्यार्थीहरुले अनावश्यक रुपमा शुल्क लिईरहेको विरोध गर्दा कुटपिट गरिएका कारण प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षलाई कारवाही हुनुपर्ने माग गरेका छन् । उनीहरुले राजविराजमा बुधबार बृहत प्रर्दसन गर्दे दुबैजनालाई कारबाही नगरिए थप आन्दोलन गर्ने चेतावनी दिए ।
कुटपिटपछि आफूलाई नांगो बनाएर भिडियो बनाएको र कसैलाई कुटपिटबारे भनिए भिडियो सार्वजनिक गरिदिने धम्की दिएको घाइते विद्यार्थी विकासले बताए ।
प्रअ र अध्यक्षबाट कुटिएका विद्यार्थीद्वय मण्डल र साह गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचारपछि मंगलवबार राती घर फर्किएका छन् । कुटिएका विद्यार्थी मण्डलको आँखामा गम्भीर चोट लागेको छ । मण्डल र साहको शरिरको विभिन्न भाग फलामको रडले कुटिएको निशान देखिएको छ । मंगलबार साँझ र बुधबार दिउँसो आक्रोसित विद्यार्थीहरुले प्रधानाध्यापक अध्यक्षलाई कारबाहीको माग गर्दै राजविराजमा प्रदर्शन गरेका छन् ।
नरेन्द्र मेमोरियल जनता माध्यमिक विद्यालयले कक्षा ९ को रजिष्ट्रेसन फारम वापत ५ सय रुपैयाँ र कक्षा १० को रजिष्ट्रेसन फारम शुल्क वापत एकहजार रुपैयाँ लिईरहेको थियो । यसका अतिरिक्त विद्यालय व्यवस्थापन समितिको निर्णय भन्दै विद्यालय सुधार सहयोग वापत समेत परीक्षाको मुखमा विद्यार्थीसँग रकम माग गरेपछि केही विद्यार्थीहरुले अनावश्यक शुल्कको मारमा पारिएको भन्दै विरोध गरेका थिए ।
रजिष्ट्रेसन शुल्क वापत कक्षा ९ को तीनसय रुपैयाँ र कक्षा १० को लागि ५ सय रुपैयाँ राजश्व बुझाउनुपर्ने प्रावधान छ । उक्त प्रावधान विपरीत रकम लिन थालेपछि विरोधमा उत्रिएका विद्यार्थीहरुको अगुवाई गरिरहेका मण्डल र साह कुटिएका हुन् ।
‘अनावश्यक रुपमा रकम लिईरहेकोबारे मैले गरेको प्रतिरोधको साथीहरुले भिडियो बनाएर सामाजिक सञ्जाल फेसबुकमा राखे’, घाइते विद्यार्थी विकास मण्डलले भने,‘त्यसैको निहुँ बनाएर हेडसर र अध्यक्षले अफिसमा निर्घात कुटे ।’ मंगलबार परीक्षा दिन विद्यालयको कक्षाकोठामा रहेका बेला जयराम साह नामका शिक्षकले आफनो मोबाइल खोसेर कार्यालयमा लगेको र परीक्षा सकिएपछि मोबाइल लिन जाँदा प्रअ र अध्यक्षले कुटेको घाइते बिकासले बताए । ‘विद्यालयकोबारेमा जथाभावी बोलेर बेइज्जत गराउँदै छस् भन्दै एकहोरो कुटिरहे’ विकासले भने ।
प्रधानाध्यापक र अध्यक्षले भने विद्यार्थीलाई कुटपीट नगरेको दाबी गरे । मोबाइल लिन आउँदा अभिभावकलाई बोलाएर ल्याउनु भनेपछि विद्यार्थीले अभद्रता देखाएको र त्यस क्रममा घम्साघम्सी हुँदा टेबुलमा ठोक्किएर चोट लागेको प्रधानाध्यापक यादवको दाबी छ ।
कक्षा ९ का लागि ५ सय र कक्षा १० का लागि एक हजार रजिष्ट्रेसन शुल्क लिईरहेको भने प्रधानाध्यापक यादवले स्वीकारे । ‘कक्षा ९ को रजिष्ट्रेसनको राजश्व दस्तुर तीनसय नै हो तर एकसय रुपैयाँ फारम पठाउनका लागि मसलन्द खर्च वापत् र एकसय रुपैयाँ कक्षा १० को विद्यार्थीको विदाई कार्यक्रमका लागि लिइएको हो,’ उनले भने ।
यस्तै कक्षा १० को लागि रजिष्ट्रेसनको राजश्व शुल्क ५ सय मात्र भएपनि परीक्षापछि ग्रेडिङ सिटको लागि २ सय ५०,प्रयोगात्मक परीक्षाका लागि एकसय ५० र फारम पठाउन मसलन्द वापत एकसय गरि एकहजार लिएको प्रअ यादबले स्वीकारे ।
उनले विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार विद्यालय सुधार सहयोग रकम लिईरहेको दाबी गरे । ‘अतिथी सत्कार,विजुली बिल,पार्ट टाइम शिक्षक,कम्प्युटर शिक्षा,इ–लाइब्रेरीका लागि विद्यार्थीवाट सहयोग शुल्क लिईएको हो’ प्रअ यादवले भने ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी ढुण्डीराज न्यौपानेले घटनाबारे जिल्ला प्रहरीमा जानकारी आएको र दुवैपक्षलाई राखी कुरा बुझ्ने कार्य भईरहेको बताउनुभयो ।

प्रकाशित मिति: २०२३-१२-१४ , समय : ०९:०२:५४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित