मधेस प्रदेश : जनकपुरधाममा विवाहपञ्चमी महोत्सव सुरु , तीन दिन मदिरा तथा माछा/मासु बिक्री वितरणमा रोक
मिति: २०२३-१२-११ , समय : १६:२८:२८ , गामघर डेस्क
मिति: २०२३-१२-११ , समय : १६:२८:२८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम ।
मधेस प्रदेशको राजधानी जनकपुरधाममा सीताराम विवाहपञ्चमी महोत्सव भोलीदेखि सुरु हुन लागेको छ । प्रत्येक वर्ष एक हप्तासम्म मनाइने सप्ताहव्यापी कार्यक्रम सीताराम विवाहपञ्चमीको तयारीमा अहिले जानकी मन्दिरको सरसजावटदेखि विभिन्न कार्यक्रमहरुको लागि आकर्षक किसिमको पण्डालहरु बनाइने काम भइरहेको छ।
मंसिर २६ गते देखि सुरु हुने विवाहपञ्चमी एक सातासम्म चल्ने भएकाले यसको तयारीको लागि विभिन्न समिति उपसमितिहरु गठन गरी सबै समिति उपसमितिहरुलाई विभिन्न कामको जिम्मा दिइएको थियो।
प्राचीन मिथिलाको राजधानी समेत रहेको जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी मनाइने गरिन्छ। यहाँ विवाहपञ्चमी हेर्न नेपालसहित भारतबाट समेत लाखौँको संख्यामा श्रद्धालु भक्तजनहरु आउने गर्छन्। र यसमा आउनेहरुको संख्यामा दिनानुदिन बढोत्तरी हुँदै गएको छ।
प्राचिनकालमा मिथिलाका राजा जनककी छोरी सीताको विवाह अयोध्याका राजा दशरथको जेठा छोरा रामसँग भएको स्मरणमा विवाहपञ्चमी मनाइने गरिन्छ। मंसिर २६ गतेदेखि सुरु हुने सप्ताहव्यापी कार्यक्रम पुस २ गते राम कलेवा गरी सम्पन्न हुन्छ।
एक हप्ता सम्म मनाइने सीताराम विवाहपञ्चमी मंसिर २६ गते मंगलवार जनकपुरधाम नगर दर्शनबाट सुरु हुन्छ। नगर दर्शन जानकी मन्दिरको प्रांगणमा मनाइन्छ। त्यस्तै दोस्रो दिन फूलवारी लिला मनाइन्छ जुन विवाह मण्डपको पार्कमा आयोजना हुने जानकी मन्दिरले जनाएको छ ।
त्यस्तै तेस्रो दिन धनुषा यज्ञ, चौँथो दिन तीलकोत्सव, पाँचौ दिन मटकोर, छैठ एव विवाहपञ्चमीको मूल दिन स्वयम्बर र शुभ विवाह र सातौँ दिन राम कलेवा हुन्छ। जसमा जनतीको रुपमा आएका साधु सन्तहरुलाई ५६ व्यञ्जन खुवाई विदाई गरीन्छ। र विधिवत रुपमा एक हप्तासम्म चल्ने विवाहपञ्चमी सम्पन्न हुन्छ।
यता सीताराम विवाहपञ्चमी महोत्सवको अवसरमा जनकपुरधाममा तीन दिन मदिरा तथा माछा -मासुको बिक्री वितरणमा रोक लगाइएको छ ।
मंगलबारदेखि सुरु हुन लागेको विवाहपञ्चमी महोत्सव सुरक्षित, मर्यादित र सौहार्दपूर्ण वातावरणमा मनाउने सन्दर्भमा सोमबार बसेको सरोकारबालासँगको बैठक तथा जिल्ला सुरक्षा समितिको बैठकले मंसिर २८ गते राति १२ बजेदेखि पुस १ गते राति १२ बजेसम्म मदिरा तथा माछा÷मासुको बिक्री वितरणमा रोक लगाएको छ ।
यस अवधिमा जनकपुरधामको परिक्रमा क्षेत्रभित्र र परिक्रमा सडकको दायाँबायाँ मदिरा बिक्री वितरण, सेवन तथा पशुपंक्षी काट्न, माछा, मासु बिक्री वितरण, ओसारपसार गर्न निषेध गरिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
सूचनाको विपरित निषेधित क्षेत्रमा उक्त कार्य गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारवाही हुने जनाइएको छ ।
प्रकाशित मिति: २०२३-१२-११ , समय : १६:२८:२८ , १ वर्ष अगाडि