आरती साह मृत्यु प्रकरणमा श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन सर्वोच्चको आदेश

मिति: २०२३-१२-०६ , समय : १९:३४:०८ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डौ । सर्वोच्च अदालतले आरती साह मृत्यु प्रकरणमा आरतीका श्रीमान मोतीबाबु साहलाई थुनामा पठाउन आदेश दिएको छ । न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आज साहलाई थुनामा पठाउने आदेश दिएको हो ।

आरती गएको जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन् । आरतीको हत्या भएको भन्दै माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका श्रीमान मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो ।

उनीहरुविरुद्ध असार १ मा जिल्ला अदालत धनुषामा ज्यानसम्बन्धी मुद्दा दायर भएकोमा थुनछेक बहसपछि असार ५ मा जिल्ला अदालतले आरतीका पति र ससुरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर उच्च अदालत जनकपुरधामले उनीहरुलाई रिहा गर्ने आदेश दिएको थियो ।

उच्च अदालतको आदेशविरुद्ध जिल्ला सरकारी वकिल कार्यलयले गरेको पुनरावेदन निवेदनमा सर्वोच्च अदालतले आज सुनुवाइ गर्दै ससुरा मदनमोहन ब्याहुत सुडीलाई रिहा गर्ने र श्रीमान मोतीबाबुलाई भने थुनामा पठाउने आदेश दिएको हो ।

प्रकाशित मिति: २०२३-१२-०६ , समय : १९:३४:०८ , 1 year अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित