सप्तरीका पाालिकाहरुको प्रथम त्रैमासिक बजेटमा झन्डै ३८ करोड २२ लाख कटौती

सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा, दुई वटा पालिकाको बजेट अझै निकासा भएन

मिति: २०२३-१२-०२ , समय : १६:३७:३२ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज । चालु आर्थिक वर्ष बितेको ६ महिना भइसक्यो। अब आर्थिक वर्ष सकिन आधा समय मात्र बाँकी रहेको छ। सप्तरीका १६ वटा पालिकामा प्रथम त्रैमासिक बजेट निकासा भएको छ। तर, दुई वटा पालिकाको बजेट अझै निकासा भएको छैन। नौ नगरपालिका र नौ गाउँपालिका गरेर १८ स्थानीय तह रहेको यो जिल्लामा असोज महिनासम्ममा १२ पालिकामा त्रैमासिक बजेट निकासा भएको थियो भने चार वटा पालिकामा कात्तिक महिनामा निकासा भएको छ।

स्थानीय सरकार सञ्चालन ऐनअनुसार आर्थिक वर्ष २०८०/०८१ को लागि गत असार १० गतेभित्र नगर/गाउँ सभा गरिसक्नु पर्ने हो। हालसम्म गाउँ सभा नगरेको र बजेट माग नभएकोले रुपनी गाउँपालिका र विष्णुपुर गाउँपालिकामा बजेट निकासा नभएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीले जनाएको छ।

निकासा भएको १४ वटा पलिकाहरुमा प्रथम त्रैमासिक बजेट कटौती भएको छ। आर्थिक वर्ष ०७९/०८० कोभन्दा यस आर्थिक वर्षमा ३८ करोड २२ लाख ९१ हजार ७२३ रुपियाँ ३७ पैसा प्रथम त्रैमासिक बजेटमा कटौति भएको कोष तथा लेखा नियन्त्रक कार्यालय सप्तरीका प्रमुख कोष नियन्त्रक शरणहरि लुइँटेलले जानकारी दिनुभयो।

गत वर्षको त्रैमासिक बजेटभन्दा यस वर्ष छिन्नमस्ता गाउँपालिका र डाक्नेश्वरी नगरपालिकामा बढी बजेट निकासा भएको छ। छिन्नमस्तामा दुई करोड ८१ लख ४७ हजार ४० रुपियाँ बढी हुँदा त्रैमासिकमा सात करोड ७३ लाख ४७ हजार निकासा भएको छ भने अघिल्लो वर्षको त्रैमासिकमा चार करोड ९१ लख ९९ हजार ९६० रुपियाँ निकासा भएको थियो।

डाक्नेश्वरी नगरपालिमा यस त्रैमासिकमा ११ करोड ७० लाख २१ हजार निकास भएको छ। यस त्रैमासिकमा पाँच करोड ४५ लाख १० हजार ३४२ रुपियाँ बढेको छ। अघिल्लो त्रैमासिकमा छ करोड २५ लाख १० हजार ६५८ निकासा भएको थियो।

नगरपालिकामध्ये सबभन्दा बढी बोदेबसाईनको बजेटमा कटौती भएको छ। पालिकामा पाँच करोड ४६ लाख ४६ हजार ६२८ रुपियाँ कटौती गरी आठ करोड ५४ लाख ७० हजार निकासा भएको छ भने अघिल्लो त्रैमासिकमा १४ करोड एक लाख १६ हजार ६२८ रुपियाँ निकासा भएको थियो।

सबैभन्दा कम खडक नगरपालिकामा कटौती गरेर १२ करोड ७६ लाख ५२ हजार निकासा हुँदा २७ लाख छ हजार ३१० रुपियाँ कटौती भएको छ। अघिल्लो त्रैमासिकमा १३ करोड तीन लाख ५८ हजार ३१० रुपियाँ निकासा भएको थियो। दोस्रोमा शम्भुनाथ नगरपालिकाको एक करोड १८ लाख २३ हजार ६२६ रुपियाँ कटौती भएको छ।

कञ्चनरुप नगरपालिकामा यस वर्ष नौ करोड ५१ लाख छ हजार निकासा भएको छ भने अघिल्लो वर्षको प्रथम त्रैमासिकमा १४ करोड नौ लाख ८४ हजार ६२९ रुपियाँ निकास भएको थियो। यसत्रैमासिकमा चार करोड ५८ लाख ७८ हजार ६२९ रुपियाँ कटौती भएको छ।

राजविराज नगरपालिकामा तीन करोड ८८ लाख २९ हजार ९५० रुपियाँ ३४ पैसा बजेट कटौती भएको छ। यस त्रैमासिकमा १५ करोड ९४ लाख ४५ हजार निकासा भएको छ भने अघिल्लो त्रैमासिकमा १९ करोड ८२ लाख ७४ हजार ९५० रुपियाँ ३४ पैसा निकासा भएको थियो।

सप्तकोसी नगरपालिकामा सात करोड २१ लख ७२ हजार निकासा हुँदा ९२ लाख दुई हजार ९५७ रुपियाँ कटौती भएको छ। अघिल्लो त्रैमासिकमा आठ करोड १३ लाख ७४ हजार ९५७ रुपियाँ निकासा भएको थियो। हनुमाननगर कंकालीनी नगरपालिकामा आठ करोड ७७ लाख २० हजार निकासा हुँदा दुई करोड ९४ लाख तीन हजार २९५ रुपियाँ कटौती गरिएको छ। अघिल्लो त्रैमासिकमा ११ करोड ७१ लख २३ हजार २९५ रुपियाँ निकासा भएको कोलेनिकाका लेखापाल वीरेन्द्रकुमार यादवले बताउनुभयो।

यसैगरी गाउँपालिकामध्ये तिलाठी कोइलाडीको सबभन्दा बढी बजेट कटौती भएको छ। तीन करोड ३६ लाख ९४ हजार तीन पैसा कटौती भएर छ करोड चार लाख ५६ हजार निकासा भएको छ। अघिल्लो त्रैमासिकमा नौ करोड ४१ लख ५० हजार तीन पैसा निकासा भएको थियो। अग्नीसाइर कृष्णसवरमा दुई करोड १५ लाख ४९ हजार ९६१ कटौति गरी सात करोड ६२ लाख ५० हजार निकासा भएको छ भने अघिल्लोमा नौ करोड ७७ लाख ९९ हजार ९६१ निकासा भएको कोलेनिकाका सूचना अधिकारी लेखापाल उमेशकुमार यादवले जानकारी दिनुभयो।

तिरहुतमा दुई करोड २६ लाख ४५ हजार २९२ रुपियाँ कटौती गरी पाँच करोड २७ लाख १३ हजार निकासा भएको छ। अघिल्लोमा सात करोड ५३ लाख ५८ हजार २९२ रकम निकासा भएको उहाँले बताउनुभयो।

बलानबिहुलमा एक करोड २१ लाख ७२ हजार ९७३ रकम कटौती गरेर पाँच करोड ५९ लाख दुई हजार निकासा भएको छ। अघिल्लोमा छ करोड ८० लाख ७४ हजार ९७३ निकासा भएको थियो।

राजगढमा ८८ लाख ३५ हजार २९३ कटौति गरेर सात करोड ५६ लाख तीन हजार निकासा भएको छ भने अघिल्लोमा आठ करोड ४४ लाख ३८ हजार २९३ निकासा दिएको थियो। महादेवामा ५६ लाख ६१ हजार ६४२ कटौति गरी सात करोड ३७ लाख ८० हजार निकासा दिएको छ भने अघिल्लो प्रथम त्रैमासिकमा सात करोड ९४ लाख ४१ हजार ६४२ रुपियाँ निकासा गरिएको कोलेनिकाको तथ्याकंमा उल्लेख छ। गाेरखापत्र अनलाइनमा धिरेन्द्र प्रसाद साहले लेखेको समाचार हाे ।

प्रकाशित मिति: २०२३-१२-०२ , समय : १६:३७:३२ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्