मङ्सिर ७ गतेकाे काठमाडौं : दुर्गा प्रसाईं र महेश बस्नेत नेतृत्वकाे शक्ति प्रदर्शनमा दिनभरि आज जे देखियाे……..

युवा सङ्घकाे शक्ति प्रदर्शन, शान्तिपूर्ण प्रदर्शन गर्न मानव अधिकार आयोगको आग्रह

मिति: २०२३-११-२३ , समय : २१:१४:१० , गामघर डेस्क

तस्बिर : शुभ नारायण यादव / गामघर टिभिबाट

गामघर डेस्क

काठमाण्डाै । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वकाे ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊँ महाअभियान’ र नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घले काठमाण्डाैमा एकै दिन एकै ठाउँमा शक्ति प्रदर्शन गर्ने भएपछि मङ्सिर ७ गते के हुन्छ भन्ने आमनागरिकमा जिज्ञासा र कौतुहलता व्याप्त थियो । तर सम्भावित झडपलाई मध्यनजर गरी प्रशासनले दुवैले प्रदर्शन गर्ने भनिएको माइतीघरमा प्रदर्शन गर्न नदिने निर्णय गर्‍याे । प्रशासनले माइतीघरलगायत सिंहदरबार, प्रधानमन्त्री निवास, राष्ट्रपति निवास, ललितपुरको मन्त्री निवास, यूएन हाउस क्षेत्रमा निषेधाज्ञा नै जारी गर्‍याे । निषेधाज्ञा पनि एक दिनको नभएर ३० दिनको जारी गर्‍याे ।

मङ्सिर ७ गते के हुन्छ भन्ने आमजिज्ञासा र चासोका कारण आज बिहानैदेखि सुरक्षा व्यवस्था कडा बनाइएको थियो । अघिल्लो दिन नै अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन ट्राफिक प्रहरीले सार्वजनिक सूचना निकालेर आग्रह गरेको थियो । प्रहरीको सूचना तथा दुवै पक्षबीच हुनसक्ने सम्भावित झडपका कारण बिहानैदेखि गाडी कम चलेको थियो । केही स्कुलसमेत बन्द थिए । प्रहरीले सार्वजनिक तथा निजी गाडीका यात्रुलाई समेत सोधपुछ गरेको थियो ।

दुर्गा प्रसाईं नेतृत्व अभियानकाे शक्ति प्रदर्शन……

माइतीघरमा दुवै पक्षलाई प्रदर्शन गर्न नदिने प्रशासनको निर्णयपछि प्रसाईँ समर्थकलाई बल्खुमा तथा युवा सङ्घलाई तीनकुनेमा विरोध कार्यक्रम गर्न दिने प्रशासनले निर्णय गरेको थियो । त्यसैअनुसार बिहान ११ बजेदेखि दुर्गा प्रसाईँका समर्थक बल्खुमा जम्मा भएका थिए । त्यस्तै युवा सङ्घका कार्यकर्ता तीनकुनेमा जम्मा हुन शुरु गरेका थिए । सम्भावित झडपलाई मध्यनजर गरी पूर्व–पश्चिम प्रदर्शनीस्थल तोकिए पनि सुरक्षाका लागि दुवैतर्फ ठूलो मात्रामा प्रहरीको उपस्थिति थियो ।

बल्खु क्षेत्रमा प्रहरीले प्रसाईं समर्थकलाई ललितपुर, कालिमाटी, कीर्तिपुर र कलङ्कीतर्फ नै रोकेको थियो । कलङ्की तर्फबाट आएकाे आफू समर्थकको भीड थपिएपछि आन्दोलनकारी हौसिएका थिए । यसैक्रममा कीर्तिपुर तर्फबाट मोटरसाइकलमा आएका युवा सङ्घका समर्थक र प्रसाईं समर्थकबीच झडप भएको थियो । यसपछि प्रदर्शन केही बेर शान्त भए पनि पछि फेरि ढुङ्गामुढा भएको थियो ।

बल्खुमा प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेर कालिमाटीतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको थियो । प्रदर्शनकारीले भने प्रहरीमाथि ढुङ्गामुढा प्रहार गरेका थिए ।

बल्खुमा दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एकजना प्रदर्शनकारीले मञ्चबाटै निषेधित क्षेत्र तोडेर अगाडि बढ्ने घोषणा गरेका थिए । त्यसपछि प्रदर्शनकारी बल्खुबाट कालिमाटीतर्फ अगाडि बढ्न खोज्दा प्रहरीले भीड नियन्त्रण गर्न पानीका फोहरा र अश्रुग्यास प्रयोग गरेको थियो । यसले त्यहाँको वातावरण निकै तनावपूर्ण बनेको थियो । याे प्रदर्शनीमा धर्मगुरुहरूकाे पनि सहभागी भएका थिए ।

प्रहरीले बल्खु क्षेत्रमा चारैतिरबाट प्रदर्शनकारीलाई प्रवेशमा रोक लगाएपछि उनीहरूले त्यहीँबाट राष्ट्रिय झण्डासहित चर्काे नारा लगाएका थिए । बेलुकी ५ बजेसम्म पनि प्रदर्शनकारी नारा लगाउँदै बसेका थिए । प्रहरी र प्रदर्शनकारीको बाक्लो उपस्थितिका कारण बल्खु क्षेत्र बेलुकासम्मै तनावपूर्ण बनेको थियो ।


युवा सङ्घको विरोध प्रदर्शनी रहेको तीनकुने क्षेत्र भने शान्त देखिन्थ्यो । त्रिभुवन विमानस्थलबाट तीनकुनेतर्फ आउने गाडीलाई चल्न दिइएको थिएन । युवा सङ्घका अध्यक्ष महेश बस्नेतलगायत अनेरास्ववियु तथा एमाले नेताहरूले पनि कार्यक्रमलाई सम्बोधन गरेका थिए । नेताहरूलाई सम्बोधनका लागि टिपरको व्यवस्था गरिएको थियो । जहाँ चढेर नेताहरूले मन्तव्य राखेका थिए ।

कार्यक्रममा आएकाहरू नचगान गर्दै रमाइलो गरिरहेका थिए । दुवैतर्फको प्रदर्शनीमा पानी, बदाम, चटपटे बेच्नेहरूले राम्रै व्यापार गरेका थिए । बल्खुको प्रदर्शनीमा भने राष्ट्रिय झण्डा बेच्नेहरूले पनि राम्रै व्यापार गरे । मानिसहरू नर्कटमा हालेर बेच्न राखिएको झण्डा खोज्दै हिँडिरहेका देखिन्थे ।

दुवै समूहको प्रदर्शनीका कारण काठमाण्डौको ट्राफिक व्यवस्थापन भने अस्तव्यस्त भएको थियो । सार्वजनिक गाडी कम चलेका कारण यात्रुले भने सास्ती बेहाेर्नुपरेकाे थियो ।

यसेबिच राष्ट्रिय मानव अधिकार आयोगले संविधान, राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय कानुनमा उल्लेखित प्रावधानको पालनामा संवेदनशील हुन सम्बद्ध पक्षलाई गरेको आग्रह गरेको छ ।

आयोगले आउँदा दिनमा आफ्नो अधिकारको प्रयोग गर्दा अरूको अधिकारको सम्मान गर्न, प्रदर्शनलाई शान्तिपूर्ण र संयमित बनाउन आग्रह गरेको हो ।

नेकपा (एमाले) को भातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ नेपाल र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानका नामबाट आज बिहीवार काठमाण्डाैमा आयोजित प्रदर्शनको दिनभर अनुगमन गरेपछि आयाेगले विज्ञप्ति निकालेर यस्ताे आग्रह गरेको हो ।

अनुगमनका क्रममा तीनकुनेमा आयोजित युवा सङ्घ नेपालको प्रदर्शन शान्तिपूर्णरूपमा सम्पन्न भएको पाइएको तथा बल्खुमा भएको प्रदर्शनमा युवा सङ्घ र अभियान समूहबीच झडप भएको जनाइएको छ । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीका फोहरा प्रहार गरेको र त्यस क्रममा केही व्यक्ति घाइते भएका तथा मोटरसाइकल, स्कुटरमा सामान्य क्षति पुगेको जनाइएको छ ।

प्रदर्शनका कारण प्रदर्शनस्थल वरपरका विद्यालयमा पठनपाठन अवरुद्ध भएको, त्यस क्षेत्रका पसल बन्द हुँदा निर्बाधरूपमा पेसा व्यवसाय गर्ने अधिकारमा असर परेको र सर्वसाधारणले स्वतन्त्र एवम् सुरक्षितरूपमा आउजाउ गर्न नपाएको हुँदा त्यसबाट नागरिकको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार र बालबालिकाहरुकाे शिक्षाको अधिकारमा समेत असर परेको अायाेगले जनाएको छ ।

प्रकाशित मिति: २०२३-११-२३ , समय : २१:१४:१० , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित