१० लाख नागरिकलाई रोजगारी दिने बाचा पूरा गर्न हुलाकी राजमार्गमा रोजगार खोज्दै जनमत पार्टी ….

मिति: २०२३-११-२३ , समय : १०:३०:०५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

जनकपुरधाम ।
जनकपुरधामः जनमत पार्टीले हुलाकी राजमार्गमा रोजगारी सृजना गर्ने सम्बन्धी अध्ययन थालेको छ । कृषि र रोजगारीलाई मुख्य एजेण्डा बनाएर चुनावमा होमिएको जनमत पार्टीले १० लाख रोजगारी दिने बाचा गरेको थियो ।

हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सृजना गर्ने सम्बन्धी अध्ययन गर्न जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साहको नेतृत्वमा टोली खटिएका छन् । उक्त अध्ययनमा मधेश प्रदेश नीति आयोगका सदस्य डा.सोहन प्रसाद साहले सहजिकरण गरिरहेका छन् ।

कछुवाको गतिमा निर्माण कार्य भएर सम्पन्नको अन्तिम चरणमा रहेको हुलाकी राजमार्ग अन्तरगत पहिलो चरणमा मधेश प्रदेशका आठ वटै जिल्लामा हुलाकी राजमार्ग खण्डमा पर्ने स्थानीय जनप्रतिनिधि, बुद्धिजिवी र सर्वसाधारणहरुसँग सुझाव संकलन कार्य सुरु गरिएको सचिव साहले जानकारी दिए ।

मंगलबार महोत्तरी जिल्लामा पर्ने हुलाकी राजमार्ग अन्तरगत बखडी बजारबाट अध्ययनको सुरुवात गरिएको छ । हुलाकी राजमार्गमा के–कस्ता योजना, परियोजना वा कार्य गरिए रोजगारी सृजना हुने प्रश्न जनमतको टोलीले स्थानीयहरुसँग गरिरहेको छ ।

कार्यक्रममा जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले हुलाकी राजमार्गलाई केन्द्र सरकारले उपेक्षा गरेको प्रतिक्रिया दिदै आफ्नो पालिका अन्तरगत पर्ने हुलाकी राजमार्ग खण्डमा रोजगारीका लागि आफूहरुले सहजिकरण गर्ने बताए । केन्द्र र प्रदेश सरकारबाट ठोस योजना ल्याउन जनमत पार्टीलाई सुझावसमेत दिए ।

यसैगरी एकडारा गाउँपालिका अध्यक्ष दीप नारायण मण्डलले हुलाकी राजमार्गलाई व्यवस्थित गरिए आफ्नै पालिका अन्तरगतको सडक खण्डमा हजारौले रोजगारी पाउने बताए । अध्यक्ष मण्डलले आफ्नो पालिका अन्तरगत पर्ने हुलाकी राजमार्ग खण्डमा कृषि बजार र कोल्ड स्टोर स्थापनाका लागि माग गरे ।

कार्यक्रममा सहभागी बुद्धिजिबीहरुले हुलाकी राजमार्गमा नयाँ सहरहरु स्थापना भएमा लाखौं मान्छेले रोजगारी पाउने जिकिर गरेका थिए ।
‘जनमत पार्टीले जनतासँग गरेको प्रतिबद्धता पुरा कार्यमा लागेको छ,’कार्यक्रममा सचिव साहले भने,‘हामीले कुनै पनि सरकार आफ्नो अनुकुल चलाउन सक्ने मत पाएका छैनौं। त्यसकारण रोजगारीका लागि चाहेको जस्तो कार्य गर्न ढिलाई भइरहेको छ । तर, पार्टीले रोजगारी सृजनाका लागि हरसम्भव प्रयास गरिरहेको छ । सोही अन्तरगत हामीले हुलाकी राजमार्गमा रोजगारीको सम्भावना देखेर अध्ययन थालेका छौं।’

अध्ययन पछि पार्टीले निर्णय गरेर थप प्रक्रिया अगाडि बढाउने उनले बताए । ‘स्थानीय जनप्रतिनिधि, सर्वसाधार, बुद्धिजिबी र हुलाकी राजमार्ग आश्रितहरुसँग राय संकलन गरिरहेका छौं। यसकै आधारमा पार्टीले कार्यक्रम अगाडि बढाउने छ।’ सचिव साहले भने,‘यसका लागि स्थानीय जनप्रतिनिधिदेखि अन्य पार्टीका नेता कार्यकर्ताहरुले पनि जनमत पार्टीलाई सहयोग गर्नुपर्ने छ।’

यसैबीच कार्यक्रममा सहभागी मधेश प्रदेश नीति आयोगका सदस्य डा.सोहन प्रसाद साहले हुलाकी राजमार्ग वरिपरिकै पालिकाहरुमा अशिक्षा र गरिबी रहेको तथ्यांक प्रस्तुत गरेका थिए । हुलाकी राजमार्गलाई रोजगारीसँग जोड्न सकिए लाखौं जनताको जीवनस्तरमा सुधार आउने डा.साहले बताए । टुडेपाटीबाट

प्रकाशित मिति: २०२३-११-२३ , समय : १०:३०:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित