भारतले दियाे जाजरकाेट भूकम्प पीडितका लागि १० कराेड रुपैयाँ बराबरकाे आपत्कालीन राहत सामग्री
मिति: २०२३-११-०६ , समय : ०७:४६:३६ , गामघर डेस्क
मिति: २०२३-११-०६ , समय : ०७:४६:३६ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । भारतले जाजरकाेट भूकम्प पीडितका लागि १० कराेड रुपैयाँ बराबरकाे आपत्कालीन राहत सामग्रीकाे पहिलाे खेप नेपाललाई हस्तान्तरण गरेको छ ।
आज आइतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्कालाई राहत सामग्री हस्तान्तरण गर्नुभएको हो । भारतले हस्तान्तरण गरेकाे ११ टनभन्दा बढी आपत्कालीन राहत सामग्रीमा त्रिपाल, कम्बल र डस्ना, झोलाका साथै आवश्यक औषधि र ‘पोर्टेबल’ भेन्टिलेटर लगायत छन् ।
घनिष्ट मित्र र छिमेकीका रूपमा नेपालमा भूकम्प पीडितलाई हरसम्भव सहयोग गर्न भारत प्रतिबद्ध रहेको राजदूत श्रीवास्तवले बताउनुभयो । आउँदा दिनमा राहत सामग्रीका थप खेप नेपाल आइपुग्ने जनाइएकाे छ ।
भारतले २०७२ सालकाे भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा पुनःनिर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोटमा ५० हजार घरको पुनःनिर्माणसमेत गरेको थियो ।
गएकाे शुक्रवार राति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर छ दशमलव चार रेक्टर स्केलकाे भूकम्प गएकाे थियाे ।
प्रकाशित मिति: २०२३-११-०६ , समय : ०७:४६:३६ , १ वर्ष अगाडि