भूकम्प पीडितलाई सहयोग जुट्दै : भारतीय प्रधानमन्त्री मोदीद्वारा दुःख व्यक्त,चीनले १० करोड रुपैयाँ बराबरका सहायता सामग्री नेपाललाई दिने
मिति: २०२३-११-०४ , समय : २०:२७:०१ , शुभ नारायण यादब
मिति: २०२३-११-०४ , समय : २०:२७:०१ , शुभ नारायण यादब
शुभ नारायण यादब
काठमाण्डौ । जाजरकोट भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिपछि त्यस क्षेत्रका लागि सहयोग जुट्न शुरु भएको छ । विभिन्न कम्पनी तथा सङ्घ संस्थाले भूकम्प पीडितलाई सहयोग रकम घोषणा गर्न शुरु गरेका छन् ।
निजी क्षेत्रको ठूलो वायु सेवा कम्पनी बुध्द एयरले भूकम्पपीडितका लागि एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । ‘जाजरकोट तथा रुकुम पश्चिममा गएको भूकम्पका कारण थुप्रै नागरिकले ज्यान गुमाएको र थुप्रै परिवार घरबारविहीन भएका छन् । यस दुःखद् परिस्थितिमा हामी सबै नेपालीले हातेमालो तथा सहयोगका लागि तयार हुनैपर्छ । बुध्द एयर प्रालिको तर्फबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक करोड रुपैयाँ सहयोग दिने निर्णय गरेका छौँ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ । बुध्द एयरले उद्धार तथा राहत सामग्री ढुवानीमा पनि सहयोगका लागि प्रतिबद्धता जनाएको छ ।
निजी क्षेत्रको दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलले पनि भूकम्पपीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । कर्णाली प्रदेशको मुख्यमन्त्री राहतकोषमा त्यो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिनुभयो ।
एनसेलले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको ‘भ्वाइस’ र ‘डाटा’ निःशुल्क गर्ने पनि निर्णय गरेको छ । यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सञ्चालन गर्न निजी क्षेत्रका सेवा प्रदायकहलाई आग्रह गरेको थियो । आजै नेपाल टेलिकमले पनि पाँच दिनका लागि भूकम्प प्रभावित क्षेत्रमा भ्वाइस र एसएमएस निःशुल्क तथा सीम पनि वितरण गर्ने घोषणा गरिसकेको छ ।
गैरआवासीय नेपाल संघ (एनआरएनए)का अध्यक्ष बद्री केसी नेतृत्वको कार्यसमितिले पनि भूकम्पपीडितलाई १० लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरेको छ । महासचिव गौरीराज जोशीले आज एक विज्ञप्ति जारी गरी संघको तर्फबाट पहिलो चरणमा सरकारको राहत कोषमा १० लाख रुपैयाँ उपलब्ध गराउने जानकारी दिनुभयो ।
त्यसैगरी आरके शर्मा नेतृत्वको गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले पनि भूकम्पपीडितका लागि २१ लाख रुपैयाँ सहयोग गर्ने भएको छ । अध्यक्ष शर्माले आज विज्ञप्ति जारी गर्दै एनआरएनए अभियन्ताबाट सङ्कलन गरेर त्यो रकम सहयोग गर्ने बताउनुभयो । उहाँले भूकम्प प्रभावित क्षेत्रमा राहत तथा उद्धारका लागि अभियन्ता चिकित्सकीय टोलीसहित खटिएको जानकारी दिनुभयो ।
सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल पाँच/पाँच करोड रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले राहत वितरणलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने निर्णय गरेको छ । कम्बल, पाल, खाद्यान्न पठाउने काम भइसकेको र अपुग भएको अवस्थामा तुरुन्तै खबर गर्न प्रादेशिक सरकार उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेश सरकारले पनि भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल एक करोड रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि तत्काल कर्णाली प्रदेश सरकारको कोषमा सहयोग गर्ने निर्णय गरेको हो ।
प्रदेश मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले भूकम्प प्रभावित क्षेत्रमा स्वास्थ्य सामग्रीसहित २० चिकित्सकको टोली तत्काल पठाउने निर्णयसमेत गरेको बैठकपछि प्रदेश सरकारद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच मानव सेवा आश्रम र आनिछोइङ डोल्मा फाउण्डेसनले भूकम्पबाट परिवारका सम्पूर्ण सदस्य गुमाइ अनाथ भएका बालबालिका, अशक्त वृद्धवृद्धा र एकल महिलालाई तत्काल संरक्षण प्रदान गर्ने जनाएको छ ।
यता भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जाजरकोट भूकम्पबाट नेपालमा भएको जनधनको क्षतिबाट आफू मर्माहत भएको बताउँदै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जाहेर गर्नुभएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सम्बोधन गर्दै सामाजिक सञ्जाल एक्समा प्रधानमन्त्री मोदीले नेपाल सरकारलाई हरसम्भव सहयोग गर्न भारत सरकार तत्पर रहेको बताउनुभएको छ ।
भूकम्पमा परी ज्यान गुमाएका परिवारजनप्रति समवेदना व्यक्त गर्दै प्रधानमन्त्री मोदीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
त्यस्तै चीन सरकारले नेपालका भूकम्प प्रभावित क्षेत्रमा १० करोड रुपैयाँ बराबरका सहायता सामग्री दिने भएको छ ।
नेपालका लागि चीनका राजदूत छन सङले सामाजिक सञ्जाल ट्विटरमा लेख्दै भूकम्पको विपत्तीमा नेपालको साथमा चीन रहेको भन्दै १० करोड रुपैयाँ बराबरका सामग्री नेपाललाई प्रदान गर्ने बताउनुभयो ।
चीनले त्रिपाल, कम्बल, टेन्ट लगायतका सामग्री दिनेछ । केही नेपाल आउने क्रममा रहेको र बाँकी दुई दिनभित्रै आइपुग्ने उहाँले बताउनुभएको छ ।
प्रकाशित मिति: २०२३-११-०४ , समय : २०:२७:०१ , १ वर्ष अगाडि