जाजरकोट भूकम्प अपटेड: मृत्युु हुनेकाे सङ्ख्या एकसय नाघ्यो, २०७२ को भूकम्पपछि सबैभन्दा धेरै क्षति

मिति: २०२३-११-०४ , समय : ०७:५४:४५ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

काठमाण्डाै । जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएराति गएको भूकम्पबाट जनधनको ठूलो क्षति भएको छ ।

६ दशमलव ४ रेक्टर स्केलको भूकम्पका कारण घर भत्किँदा जाजरकोट र रुकुम पश्चिममा गरी एकसय जनाभन्दा धेरैको ज्यान गएको छ । जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले उज्यालोलाई जानकारी दिनुभयो । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले बताउनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

यस्तै, भूकम्पका कारण रुकुम पश्चिममा २७ जनाको ज्यान गएको छ । ५३ जना घाइते भएका छन् । कर्णाली प्रदेश प्रहरी प्रमुख डीआईजी भीमप्रसाद ढकालले रातिदेखि नै खोज तथा उद्धारको काम भैरहेको जानकारी दिनुभयो ।

अहिले घाइतेहरुलाई अस्पताल पठाउने र प्रभावित क्षेत्रमा प्रहरी तथा स्वास्थ्यकर्मी पठाउने काम पनि भैरहेको उहाँको भनाइ छ । कतिपय ठाउँमा भूकम्पपछि पहिरो जाँदा सडक अवरुद्ध भएकाले उद्धारमा कठिनाइ भएको छ । सडक पन्छाउने काम भैरहेको डीआईजी ढकालले जानकारी दिनुभयो ।

२०७२ सालको विनाशकारी भूकम्पपछि सबैभन्दा धेरै मानवीय क्षति भएको छ । जाजरकोट र रुकुम पश्चिमका सयौँ घर भत्किएका छन् । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको हो । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पको धक्का काठमाण्डौसहित देशका धेरै ठाउँमा महसुस भएको थियो ।

प्रकाशित मिति: २०२३-११-०४ , समय : ०७:५४:४५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित