जाजरकोटमा लगातार भूकम्पकाे धक्का : भुकम्पका कारण हालसम्म ८६ जनाको मृत्युु भएको पुष्टि
मिति: २०२३-११-०४ , समय : ०७:३६:०२ , गामघर डेस्क
मिति: २०२३-११-०४ , समय : ०७:३६:०२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । जाजरकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको भूकम्पपछि निरन्तर साना र ठूला परकम्प गइरहेको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति ११ बजेर ४७ मिनेटमा ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।
केन्द्रका अनुसार जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि चार घण्टाको अवधिमा ४ रेक्टरस्केलभन्दा माथिका तीनवटा परकम्प गएका छन् । भूकम्प लगत्तै १२ बजेर ८ मिनेट जाँदा ४ दशमलव ५ रेक्टरस्केलको परकम्प गएको थियो । त्यसपछि १२ बजेर २९ मिनेटमा ४ दशमलव २ रेक्टरस्केलको अर्को परकम्प गएको थियो ।
त्यस्तै, १२ बजेर ३५ मिनेट जाँदा ४ दशमलव ३ रेक्टरस्केलको परकम्प गएको थियो । अरु साना परकम्पहरु निरन्तर गइरहेका छन् । परकम्पबाट थप क्षति हुने जोखिम कायमै रहेकाले सचेत रहन र चर्केका घर तथा संरचनामा नबस्न राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् डा. मुकुन्द भट्टराईको सुझाव छ ।
पछिल्लो समय नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा स–साना भूकम्प गइरहेका छन् । यसअघि बझाङ र डोटीमा पनि भूकम्प गएको थियो । भूकम्पपछि केही महिना वा वर्षसम्म पनि परकम्प जाने र यसबाट क्षति हुनसक्ने केन्द्रका भूकम्पविद् डा. भट्टराईले जानकारी दिनुभयाे ।
यता गएरातिको भूकम्पबाट जाजरकोटमा मात्रै ८६ जनाको ज्यान गएको पुष्टि भएको छ ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले दिनुभएको जानकारी अनुसार बिहान ७ बजेसम्म ८६ जनाको ज्यान गएको पुष्टि भएको छ । धेरै घाइते भएका र उद्धारको काम भैरहेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।
गएराति जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पबाट जाजरकोटसहित छिमेकी जिल्ला रुकुम पश्चिममा पनि धनजनको ठूलो क्षति भएको छ ।
प्रकाशित मिति: २०२३-११-०४ , समय : ०७:३६:०२ , १ वर्ष अगाडि