सप्तरीको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम पुनः अन्योलमा : स्थानीयबासिहरु अनशनमा
मिति: २०२३-१०-३० , समय : ०९:०९:२१ , गामघर डेस्क
मिति: २०२३-१०-३० , समय : ०९:०९:२१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज ।
सप्तरीकाे राजविराज नगरपालिका वडा न.–१० बिरौलका ७० वर्षीय बलराम प्रसाद यादव आजभोलि दिनहुँ रिले अनशनमा बस्ने गरेका छन् ।
उनी बिरामी हुँदाहुँदै पनि अनशन स्थलमा डटेर बसेका छन् । गाउँमै निर्माण थालिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको निर्माण कार्य अलपत्र भएपछि उनी दिनहुँ रिले अनशनमा सहभागीता जनाउन थालेका हुन् । शनिबार पनि उनीसहित स्थानीयहरुले अनशनलाई निरन्तरता दिए । उनीहरु १६ दिनदेखि अनशन जारी राखेका छन् । अब त उनीहरु प्रतिष्ठान यहाँ कायम हुने कि नहुने भन्ने चिन्ताले पिरोलिन थालेका छन् ।
‘मेरो नातिनातिनाले प्रतिष्ठान सञ्चालन भएको देखिनेछ’ यादवले चिन्तित मुद्रामा भने,‘म जिउँदै प्रतिष्ठान बनेको देख्न चहान्छु, तर प्रतिष्ठान निर्माणलाई राजनीतिक मुद्दा बनाउँदै लगिएकोले मेरो सपना धूमिल भइरहेको छ । प्रतिष्ठानको जग्गा तारबारले घेरिएको अवस्था बाहेकका कार्य शुरु नगरेको देख्दा अभिलाषा समाप्त हुन थालेको हो ।’
बलरामसँगै अनशनमा बसेका सोही गाउँका रामदेव यादवको भनाइ पनि उस्तै छन् । सरकारपिच्छै लिने नीतिले प्रतिष्ठान निर्माण सम्बन्धमा उनी अन्योलमा परेका छन् । उनको बुझाइमा सप्तरीबाट प्रतिनिधित्व गर्ने संघीय संसदका सदस्यहरुले संसदमै सरकारको ध्यानाकर्षण गराउन आवश्यक रहेको बताउँछन् । उनले संघीय सासंदहरुमार्फत प्रतिष्ठानको काम अविलम्ब सुचारु गर्न सरकारसँग जोडदार माग गर्नुपर्ने बताइएको छ ।
त्यस्तै,राजविराज नगरपालिका–१ पडरियाका भोला प्रसाद दास विकास निर्माणमा सबैले एक्यवद्धता जनाउनुपर्ने बताउँछन् । प्रतिष्ठान निर्माण सप्तरीवासीको मात्रै होइन समग्र प्रदेशवासीको भविष्यसँग जोडिएको परियोजना भएकाले सबैको साथ र सहयोग अपरिहार्य रहेको बताउँछन् ।
रिले अनशनका लागि गठन गरिएको संघर्ष समितिका संयोजक रामकुमार दासले पाँच सुत्रीय माग राख्दै १६ दिनदेखि अनशन जारी रहेको जानकारी दिएको छ । उनका अनुसार यस प्रतिष्ठानको काम अविलम्ब सुचारू गर्नुपर्ने, प्रतिष्ठानको पुर्वाधार तयारी विकास समितिको म्याद थप गर्नुपर्ने, उक्त प्रतिष्ठानको अध्यक्ष लगायत कर्मचारीको नियुक्ति गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेट विनियोजन गर्नुपर्ने र उक्त विस्तृत परियोजनाको निर्माण कार्य अविलम्ब शुरु गर्नुपर्ने पाँच सुत्रीय मागसहित अनशन थालिएको बताए ।
प्रतिष्ठानका लागि पुर्वाधार तयारी विकास समितिको अध्यक्ष पद रिक्त रहेको अवस्था छ । पछिल्लो पटक म्याद थपेको २५ महिना बितिसक्दा पनि पुनः म्याद थप गरिएको छैन । वर्तमान सरकारले यस प्रतिष्ठानलाई उपेक्षित नजरले देखेपछि चालु आर्थिक वर्षमा आवश्यक बजेट विनियोजन भएको छैन । प्रदेशवासीकै वृहत्तर हितसँग जोडिएको प्रतिष्ठान निर्माण पटक–पटक अन्योलमा पर्दै गएको स्थानीय बताउँछन् । अन्ततः स्थानीयहरुले रिले अनशनमार्फत सरकारको ध्यानाकर्षण गराउन संघर्षरत छन् ।
रिले अनशनमा स्थानीय बुद्धिजीवी, शिक्षक, समाजसेवी, विद्यार्थी, युवा र राजनीतिक दलहरुले एक्यवद्धता जनाइसकेको दासले बताए ।
उनले नेकपा (एमाले)का निवर्तमान संघीय सांसद सरिता गिरिको नेतृत्वमा नेताकार्यकर्ताहरु सहभागिता जनाएको बताए । त्यस्तै,नेपाली कांग्रेसका जिल्ला सभापति रामदेव साहको नेतृत्वमा संविधानसभा सदस्य रन्जित कर्ण,उपसभापति रामकुमार यादव, बद्री नारायण मह्तमानले अनशनमा सहभागिता जनाएको बताए । यसैगरी जनता समाजवादी पार्टीबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य नवलकिशोर साह, रन्जु झा ठाकुर लगायतले सहभागिता जनाइसकेको बताए । त्यसैगरी समाजिक संस्था सप्तरी युथ नेपालले प्रतिष्ठान निर्माण अविलम्ब सुचारु गर्नुपर्ने भन्दै राजविराजमा एक्यवद्धता र्याली समेत निकाली सकेको छ ।
अनशनमा सहभागी जनाउन आएका सप्तरी कांग्रेसका सभापति रामदेव साहले प्रतिष्ठान सप्तरीवासीको वृहत्तर हितसँग जोडिएकोले यसका लागी सबै राजनीतिक दलले अग्रसरता लिनुपर्ने बताएका छन् । उनले सरकारमा नेपाली कांग्रेस समेत रहेको र सम्बन्धित मन्त्रालय समेत कांग्रेसकै रहेकाले नेपाली कांग्रेस सक्दो पहल गर्ने आश्वासन दिए । प्रतिष्ठान निर्माणमा सरकारले उपेक्षा गरे नेपाली कांग्रेसले नेतृत्वदायी पहल लिने र सडकदेखि सदनसम्म सशक्त आन्दोलन थालिने उनले बताए ।
क्रेडिट लिन होडबाजी ……
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको विषयलाई शुरुदेखि नै राजनीतिक क्रेडिट लिने होडबाजी चलेको स्थानीय बताउँछन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली सरकारको क्याबिनेटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवकै पहलमा सप्तरीमा उक्त प्रतिष्ठान निर्माण थालिएको भनेर उनका नेताकार्यकर्ताहरुले प्रचार–प्रसार गरेका थिए ।
२०७९ को आम निर्वाचनमा समेत जसपाका नेताकार्यकर्ताहरुले उक्त प्रतिष्ठान निर्माण शुरु यादवकै पहलमा भएको भन्दै उनीहरुले प्रमुख चुनावी एजेण्डाका बनाएको थियो ।
सप्तरी निर्वाचन क्षेत्र –२ मा पर्ने प्रतिष्ठान निर्माणमा सरकारले ढिलाइ गरेको भन्दै यस क्षेत्रबाट चुनाव जितेका प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.चन्द्रकान्त राउतले पनि राजनीतिक क्रेडिट खोजेका छन् । अनशन स्थलमा सहभागिता जनाउन आएका उनी आफ्नो आधिकारिक सचिवालय पेजबाट मन्त्रीपरिषदले प्रतिष्ठानको अध्यक्ष नियुक्त गरेको मिथ्या सूचना प्रवाह गरे । उनले विरोधिहरुको अनेकौ षड्यन्त्रलाई चिर्दै राउतको पहलमा प्रतिष्ठान निर्माणका काम तीव्र गतिमा सुचारु हुने बाटो खुलेको लेखे । तर अनशन स्थलमा बसेका अनशनकर्ताहरुले त्यस्तो कुनै प्रगति नभएको बताउँदै अनशन जारी राखेको बताउँछन् ।
यता जनमत पार्टीका प्रवक्ता शरद सिंह यादवले सांसद राउतको भनाइलाई बल पुग्नेगरी अब हुने मन्त्रीपरिषदको बैठकबाट प्रतिष्ठान निर्माणको कार्य अगाडी बढाउन पहल हुने बताए ।
प्रतिष्ठान निर्माण पटक–पटक अन्योलमा…..
तत्कालीन नेकपा(एमाले)अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले ‘एक प्रदेश–एक स्वास्थ्य विज्ञान प्रतिष्ठान’निर्माण गर्ने नीति अन्तर्गत निर्माण शुरु गरिएको रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्य पटक–पटक अन्योलमा पर्ने गरेको छ । पुर्वाधार विकासका लागि तयार पारिएको जग्गामा विवाद भएपछि निर्माण कार्य अन्योलमा परेको थियो । २०७५ पुस २३ गतेको मन्त्रीपरिषदको बैठकले सप्तरीमा प्रतिष्ठान निर्माण गर्ने निर्णयको १० महिनापछि जग्गा विवाद अन्त्य भएको थियो । जग्गा विवाद अन्त्यपछि राजविराज नगरपालिका–१० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानको स्वामित्वमा आएको थियो । अहिलेको सरकारले प्रतिष्ठान निर्माणका लागी आवश्यक बजेट नदिँदा फेरि निर्माण कार्य अलपत्र परेको स्थानीयहरु बताउँछन् ।
जग्गाको विवाद टुंगो लागेपछि यसै स्थानमा तत्कालीन प्रधानमन्त्री ओलीले २०७८ असार २२ गते भर्चुअल माध्यमले प्रतिष्ठानको शिलान्यास गरेको थियो । शिलान्यास पश्चात् डिपिआरको काम सम्पन्न भएर तारबारले उक्त जग्गा घेरिएको थियो । उक्त प्रतिष्ठानको लागि आर्थिक वर्ष २०७५/०७६ देखि हालसम्म १६ करोड १० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । जसमध्ये ३ करोड १६ लाख ४७ हजार खर्च भएको छ भने १२ करोड ८३ लाख ५२ हजार रुपैयाँ खर्च हुन नसकेर फिर्ता भएको छ । कुल ११ अर्ब ८८ करोड रूपैयाँको लागतमा निर्माण हुने प्रतिष्ठानको काम ५ वर्षभित्र सम्पन्न गर्ने भनिएको थियो । तर हालसम्म उक्त प्रतिष्ठानको काम तीव्र गतिमा अगाडि नबढाउँदा उक्त जग्गा गौचरनमा परिणत भएको छ । पिन्टु यादव/मध्यान्ह दैनिक
प्रकाशित मिति: २०२३-१०-३० , समय : ०९:०९:२१ , १ वर्ष अगाडि