इजरायलमा हमासको आक्रमणबाट ज्यान गुमाएका थप एक नेपाली विद्यार्थीको शव ल्याइयो
मिति: २०२३-१०-२६ , समय : ११:१३:४२ , गामघर डेस्क
मिति: २०२३-१०-२६ , समय : ११:१३:४२ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये थप एक जनाको शव आज स्वदेश ल्याइएको छ ।
नेपाल ल्याइएको शव बझाङको जयपृथ्वी नगरपालिका–६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिनुभयो । उहाँका अनुसार फ्लाइ दुबईको विमानमार्फत् बिहान ७ बजे गणेशको शव ल्याइएको हो ।
१० जना विद्यार्थीमध्ये अहिलेसम्म पाँच जनाको शव नेपाल ल्याइएको र बाँकी पाँच जनाको शव ल्याउन नातेदारको डीएनए सङ्कलन गरी पठाइएको छ । ती शव पनि चाँडै नेपाल ल्याइने गरी प्रकृया अगाडि बढेको सहसचिव आरणले जानकारी दिनुभयो ।
यसअघि दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुलाकै लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलालीकै बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल आइसकेको छ । गएको असोज २० गते हमास लडाकु समूहको आक्रमणमा परि इजरायलमा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रमा लर्न एण्ड अर्न कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । आक्रमणमा परि ज्यान गुमाउनेहरुमध्येमा धनुषा सापही–६ का आनन्द साह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी रहेका छन् ।
कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी अहिले पनि सम्पर्कविहीन हुनुहुन्छ । साथै इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई सरकारले उद्धार गरी स्वदेश ल्याएको थियो । उज्यालो
प्रकाशित मिति: २०२३-१०-२६ , समय : ११:१३:४२ , १ वर्ष अगाडि