रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे निर्माण कार्य थाल्न माग गर्दै स्थानीय युवाहरू आन्दोलित

मिति: २०२३-१०-१८ , समय : १६:३३:३७ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
सप्तरीमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणको काम सञ्चालनको माग गर्दै स्थानीय रिले अनशनमा बसेका छन्। स्थानीय रामकुमार दासको नेतृत्वमा संघर्ष समिति नै गठन गरी गत शुक्रबारदेखि आन्दोलन थालिएको हो।

उनीहरूको आन्दोलनलाई स्थानीय राजनीतिकर्मी, संस्था, स्वतन्त्र विद्यार्थी युनियन, पत्रकार महासंघ सप्तरीलगायतका संघसंस्थाले समर्थन जनाएका छन्।


एक प्रदेश, एक स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने नीतिअनुसार १६ पुस ०७५ मा मधेश प्रदेशको मन्त्रिपरिषद्को बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्ने निर्णय गरेको थियो।

यसका लागि २१ जेठ ०७८ मा मन्त्रिपरिषद् बैठकले प्रतिष्ठान निर्माण गर्न राजविराज नगरपालिका– १० बिरौलस्थित ६२ बिघा जग्गा प्रतिष्ठानका नाममा ३० वर्षका लागि लिजमा दिने निर्णय गरेको थियो।

जग्गाको टुंगो लागेपछि यही जग्गामा २२ असार ०७८ मा तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिष्ठानको भवन निर्माण कार्यको भर्चुअल माध्यमबाट शिलान्यास गरेका थिए। तर, शिलान्यासको दुई वर्षभन्दा बढी समय बितिसक्दा पनि निमार्ण कार्य सञ्चालन हुन सकेको छैन।

गजेन्द्रनारायण सिंह अस्पतालको परिसरमा प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिको कार्यालय भए पनि नेतृत्वविहीन अवस्थामा छ।


समितिका अध्यक्ष डा. रोहित पोखरेल प्रदेश सभाको निर्वाचनमा उम्मेदवार बनेपछि र गजेन्द्रनारायण सिंह अस्पतालका तत्कालीन मेडिकल सुपरिटेन्डेन्ट एवं प्रतिष्ठानका कार्यकारी निर्देशक डा.रञ्जितकुमार झा सरुवा भएर अन्यत्र गएपछि एक वर्षयता कार्यालयको कार्यकारी निर्देशकको पद समेत रिक्त छ।

त्यसपछि कार्यालयमा करारमा रहेको तीनजना कर्मचारीको म्यादसमेत थप गरिएको छैन। यद्यपि, उनीहरू आश्वासनकै भरमा कार्यालय आउने–जाने गरेका छन्।

आक्रोशित स्थानीयले प्रतिष्ठानको निर्माण कार्यलाई यथाशीघ्र अघि बढाउनुपर्ने, प्रतिष्ठानको पूर्वाधार तयारी विकास समितिमा रिक्त भएका पदहरूमा अविलम्ब पदाधिकारी र कर्मचारी नियुक्त गर्नुपर्ने, प्रतिष्ठान निर्माणका लागि आवश्यक बजेटको व्यवस्थापन गर्नुपर्नेलगायतका माग राख्दै आन्दोलन थालेका छन्। नयाँ पत्रिकाबाट

प्रकाशित मिति: २०२३-१०-१८ , समय : १६:३३:३७ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित