आज मोतीराम भट्टको १५८औँ जन्मजयन्ती, आज बुबाको मुख हेर्ने दिन
मिति: २०२३-०९-१४ , समय : ०७:३८:१५ , गामघर डेस्क
मिति: २०२३-०९-१४ , समय : ०७:३८:१५ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । नेपालमा पत्रकारिता शुरुआत गर्ने व्यक्तित्व एवम् राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५८औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।
विसं १९२३ साल भदौ कृष्ण कुशे औँसीका दिन जन्मिएका उहाँको विसं १९५३ साल भदौ कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा निधन भएको थियो । मोतीराम भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याउनु भएको छ ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि मोतीराम भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याउनुका साथै नेपालमा छापाखानासमेत भित्र्याउनुभएको थियो । यही छापाखानामार्फत नेपालमा पत्रकारिताको शुरुवात भएको हो ।
राष्ट्रिय विभूतिसमेत रहेका भट्टले नेपाली भाषाको पहिलो पत्रिका ‘गोर्खा भारत जीवन’ प्रकाशित गर्नु भएको थियो । तत्कालीन समयमा नेपाली साहित्यमा उहाँले गर्नु भएको योगदान अतुलनीय छ । यस्तै हरेक वर्ष भदौ कृष्णपक्षको औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर मनाइँदै छ ।
कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसैदिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा. डा. देवमणि भट्टराईले जानकारी दिनुभयो ।
सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।
यस्तै, पितालाई सम्मान–भक्ति प्रकट गर्दै आज बुबाको मुख हेर्ने दिन मनाइँदै छ । बुबा हुनेले मिठामिठा परिकार बनाएर खुवाउने तथा लुगाफाटो तथा विविध उपहार दिने चलन छ । बाबु नहुनेले विभिन्न तीर्थस्थलमा गइ तर्पण तथा श्राद्ध गर्ने परम्परा छ ।
आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाण्डाैको उत्तरपूर्वी क्षेत्रमा रहेको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ । यसैले आजको औँसीलाई गोकर्णे औँसीकाे नामले पनि चिनिन्छ ।
यस अवसरमा गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुबाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भिड लाग्ने गर्छ । यसैगरी रसुवा र नुवाकोट सङ्गमस्थल बेत्रावतीमा पनि मेला लाग्छ ।
प्रकाशित मिति: २०२३-०९-१४ , समय : ०७:३८:१५ , १ वर्ष अगाडि