तातोपानी नाकाबाट झन्डै आठ वर्षपछि मानिसको आवतजावत शुरु
मिति: २०२३-०९-०१ , समय : १२:१०:१८ , गामघर डेस्क
मिति: २०२३-०९-०१ , समय : १२:१०:१८ , गामघर डेस्क
गामघर डेस्क
काठमाण्डाै । झण्डै आठ वर्षपछि मानिस ओहोरदोहोरका लागि तातोपानी नाका खुलेको छ ।
अध्यागमन कार्यालय कोदारीका अनुसार चिनियाँ क्षेत्र प्रवेशका लागि अध्यागमन कार्यालय कोदारीले स्थानीय बासिन्दाका लागि आजसम्म २ सय २७ निलो रङ्गको पास जारी गरेको छ । यो पासले सीमाबाट ३० किलोमिटर क्षेत्रभित्रका सिन्धुपाल्चोकका बासिन्दा मितेरी पुल पारिका क्षेत्रमा जान पाउने प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाका ३० जना स्थानीय बासिन्दालाई चिनियाँ क्षेत्र प्रवेश गराएर नाका खोलिएको हो ।
तर, चीनले खासा बजारसम्म जान भने अनुमति दिइसकेको छैन । यो नाका २०७२ साल वैशाख १२ गतेको भूकम्प पछि बन्द थियो । त्यसपछि पुनर्निर्माणलगायतका सहयोग पठाउन चीनले आंशिक रुपमा नाका खोलेको थियो । तर, कोरोनाभाइरस महामारी फैलिएपछि २०७६ साल चैत ११ गतेदेखि नाका बन्द भएको थियो ।
तीन महिना अघिदेखि भने मालवाहक गाडीका लागि चीनले नाका खुलाएको थियो । तर, मानिसको आवतजावतका लागि भने नाका खुलेको थिएन । काठमाण्डौसँगको नजिकको यो नाका पूर्ण रुपमा खुलेपछि मालसामान ढुवानीमा सहज हुनेछ । यसले स्थानीय बासिन्दासँगै व्यापारीहरु उत्साहित भएका छन् ।
नेपाली व्यवसायीले भूकम्प अघि खासा बजारबाट धेरैजसो सामान आयात गर्ने गरेका थिए । रासस
प्रकाशित मिति: २०२३-०९-०१ , समय : १२:१०:१८ , १ वर्ष अगाडि