आरती साह मृत्यु प्रकरणको छानविनका लागि विशेष टोली जनकपुरमा
मिति: २०२३-०८-२४ , समय : १८:५८:१८ , गामघर डेस्क
मिति: २०२३-०८-२४ , समय : १८:५८:१८ , गामघर डेस्क
गामघर डेस्क
जनकपुरधाम । जनकपुरधामकी आरती साह मृत्यु प्रकरणको छानविन गर्नका लागि नेपाल प्रहरीले गठन गरेको विशेष छानविन समितिको टोली जनकपुरधाममा सक्रिय छ र टोलीले छानविन गरिरहेको छ । नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक विकास खनालको नेतृत्वमा रहेको छानविन समितिले आरती मृत्यु प्रकरणका विषयमा सूक्षम अनुसन्धान थालेको छ ।
आरती मृत्यु प्रकरणमा छानविन गर्नका लागि बनेको छानविन समितिले मृत्यु भएको घटना स्थल, मृतकका माईती तथा ससुराली पक्षका आफन्तहरू, छिमेकीहरूसँग, ईन्सेक र आरेक नेपाल, अभियानी तथा अन्य निकायका पदाधिकारीहरू सँग जानकारी लिइरहेको छ ।
समितिका सदस्य वरिष्ठ प्रहरी उपरीक्षक शेखर खनाल सहितको टोली घटनाबारे चासो राख्ने अधिकारकर्मीहरु संग समेत सोधपुक्ष गरिरहेको छ । आरती साहका आमा बुबा, बहिनी तथा भाई सहितका आफन्तहरू घटनाको निष्पक्ष छानबिनको माग गर्दे काठमाण्डौको माइतीघर मण्डलामा लामो समयदेखि धर्ना दिँदै आएका छन् ।
माईती पक्षले आरतीको हत्या भएको भन्दै छानबिनको माग गर्दै आएका छन् । मृतकका ससुराली पक्षले आरती साह आफै आत्महत्या गरेको दावी गरिरहेको छ । प्रहरीले आरतीका ससुराली पक्षका ससुरा सहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।
पछिल्लो पटक काठमाण्डौमा आरतीका आफन्तहरू निषेधित क्षेत्रमा धर्ना दिँदा प्रहरीले पक्राउ गरेपछि आरती मृत्यु प्रकरणले अझ बढी चर्चा पाएको थियो र नेपाल प्रहरीले प्रहरी नायव महानिरीक्षकको संयोजकत्वमा पाँच सदस्यीय प्रहरीको छानविन समिति बनाएको थियो । एसपी रिपोर्टरबाट
प्रकाशित मिति: २०२३-०८-२४ , समय : १८:५८:१८ , १ वर्ष अगाडि