भारतले पठाएको चन्द्रयान–३ आज बेलुका चन्द्रमामा अवतरण गर्दै

मिति: २०२३-०८-२३ , समय : १२:३३:०४ , गामघर डेस्क

तस्बिर : एजेन्सीबाट

गामघर डेस्क

भारत । भारतले अन्तरिक्षमा पठाएको चन्द्रयान–३ आज बेलुका ६ बजेर ४ मिनेटमा चन्द्रमामा अवतरण गर्ने भएको छ ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले चन्द्रयान–३ आज बेलुका अवतरण हुने जनाएको छ।

सकुशल अवतरण भएमा चन्द्रयान–३ चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्ने पहिलो यान बन्नेछ ।

चन्द्रमाको दक्षिणी ध्रुवमै अवतरण गर्ने क्रममा रहेको रुसी यान लुना–२५ आइतवार दुर्घटनामा परेपछि चन्द्रयान–३ लाई पहिलो हुने अवसर छ ।

चन्द्रमाको दक्षिणी ध्रुवमा बरफ र महत्त्वपूर्ण तत्त्वहरू हुनसक्ने वैज्ञानिकहरूले अपेक्षा गरेका छन् ।

यदि त्यहाँ पानी वा बरफ भएमा भविष्यमा चन्द्रमामा मानव बस्ती बसाल्न सकिने सम्भावना रहने वैज्ञानिकहरूको भनाइ छ ।

यसअघि अमेरिका, रुस र चीनले मात्रै उपकरण चन्द्रमामा अवतरण गराउन सफल भएका छन् ।

भारतको यान सफलतापूर्वक चन्द्रमामा अवतरण भएमा भारत चौथो देश बन्नेछ ।

चार वर्षअघि चन्द्रयान–२ चन्द्रमामा अवतरण गर्ने क्रममा दुर्घटना भएपछि त्यसलाई थप परिष्कृत गर्दै भारतले चन्द्रयान–३ बनाएको हो ।

भारतले चन्द्रमा मिसनका लागि गएको जुलाई १४ मा अन्तरिक्ष यान पठाएको हो ।

इसरोले चन्द्रयान अवतरणको अन्तिम तयारीमा रहेको बताएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । एजेन्सी

प्रकाशित मिति: २०२३-०८-२३ , समय : १२:३३:०४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्