डिभोर्स सम्बन्धि रिपोर्टिङ गर्ने पत्रकार सौरभ यादवमाथि सांघातिक आक्रमण ,महासंघद्वारा भत्सर्ना

मिति: २०२३-०८-१९ , समय : १२:२०:५४ , गामघर डेस्क

तस्बिर : सामाजिक सन्जालबाट

गामघर डेस्क

राजविराज ।
नयाँ पत्रिका दैनिकका सप्तरी संवाददाता सौरभ यादवमाथि सांघातिक आक्रमण भएको छ । शुक्रबार राति १० बजे राजविराज नगरपालिका-२ स्थित राजदेवी चोकमा दुई जनाले उनीमाथि आक्रमण गरेका हुन् ।

राति पत्रकार यादवलाई टेलिफोन गरेर राजदेवी चोक बोलाएर उनीहरुले ‘हिरो बन्न खोजेको’, डिभोर्स सम्बन्धि रिपोर्टिङ गर्न खोजेको’ भन्दै निर्घात कुटपिट गरेका थिए । यादवमाथि कुटपिट गर्नेमध्ये एकजना वब्बी यादव भए पनि थप एक युवाको पहिचान हुन सकेको छैन।

यादवलाई कुटपिट गरे लगत्तै प्रहरी घटनास्थलमा आए पनि कुटपिट गर्नेहरु फरार भएका थिए । कुटपिटबाट यादवकाे छातिमा चोट लागेकाे छ । उनकाे अहिले गजेन्द्रनारायणसिंह अस्पतलामा उपचार भइरहेकाे छ ।

नेपाल पत्रकार महासंघ सप्तरीले पत्रकार यादवमाथि कुटपिट भएकाे घटनाको निन्दा गर्दै संलग्नमाथी कानुनी कारबाहीको माग गरेको छ । ‘सूचनाको माध्यमबाट आमजनतालाई सुचित गराउने जिम्मेवारी बोकेका पत्रकार यादवमाथि कुटपिट गर्नेमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय सप्तरीसँग नेपाल पत्रकार महासंघ जोडदार माग गर्दछ,’ महासंघका सप्तरी सचिव रामनारायण विश्वासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले पत्रकारको सुरक्षाको वातावरण मिलाउन गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग सहितका सम्बद्ध निकायको ध्यानाकर्षण पनि गराएको छ ।

प्रेस मञ्च नेपाल सप्तरीले पनि घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारबाहीको माग गरेको छ । ‘पत्रकार यादवमाथि भएको आक्रमणको प्रेस मञ्च नेपाल, सप्तरी घोर निन्दा एवम् भर्त्सना गर्दै घटनामा संलग्न दोषीलाई तत्काल पक्राउ गरी कारवाहीको माग गर्दछ,’सचिव विद्यानन्द रामद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति: २०२३-०८-१९ , समय : १२:२०:५४ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्