एमाले सांसदको अवरोधका कारण संसद् बैठक आज पनि चल्न सकेन

मिति: २०२३-०८-०७ , समय : १८:२६:०५ , गामघर डेस्क

फाइल फाेटाे

गामघर डेस्क

काठमाण्डाै । सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेका सांसदहरूले आज साेमवार पनि सङ्घीय संसद्का दुवै सदनका बैठक अवरुद्ध पारेका छन् ।

एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भयो । राष्ट्रियसभाको अर्को बैठक पर्सि बुधवार बस्ने छ ।

यस्तै प्रतिनिधिसभाको बैठक पनि आज बस्दै नबसी स्थगित भएको छ । आज प्रतिनिधिसभाको बैठक बस्न सभामुख देवराज घिमिरेले दुई पटकसम्म शीर्ष नेताहरूबीच छलफल गरे पनि सहमति भएन । दिउँसो १ बजेका लागि तय भएको बैठक सभामुखले सहमतिका लागि भन्दै दिउँसो ४ बजेका लागि सार्नुभएको थियो । सहमति हुन नसकेपछि बैठक भोलि मङ्गलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ । उज्यालो

प्रकाशित मिति: २०२३-०८-०७ , समय : १८:२६:०५ , १ वर्ष अगाडि

यहाँ कमेन्ट गर्नुहोस्
सम्बन्धित