मैथिली गीत गायन पुरस्कारका लागि कञ्चन झा चयन
मिति: २०२३-०७-२९ , समय : १८:४६:३१ , गामघर डेस्क
मिति: २०२३-०७-२९ , समय : १८:४६:३१ , गामघर डेस्क
गामघर डेस्क
राजविराज । मधुश्रावणी पर्वको अवसरमा प्रदान गरिदै आएको उर्मिला देबी मैथिली गीत गायन पुरस्कार सप्तरीको राजविराज नगरपालिका वडा न.४ की कञ्चन झालाई प्रदान गरिने भएको छ ।
प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाद्वारा भाईबुहारी उर्मिलादेबी झाको स्मृतिमा स्थापित पुरस्कारबाट यस वर्ष मैथिली लोकगीत गायिका कञ्चन झालाई पुरस्कृत गर्ने निर्णय भएको हो । पुरस्कारका संस्थापक झाका अनुसार मैथिली साहित्य परिषद्को समन्वयमा शनिबार बसेको वैठकले उक्त निर्णय गरेको हो ।
मैथिली साहित्य परिषद्की आजिवन सदस्य मैथिली गीत गायिका उर्मिला देबी झाको पाँच वर्षअघि मधुश्रावणी पर्वकै समयमा मोरङ्गको विराटनगरमा भएको दुर्घटनामा मृत्यु भएको थियो । उर्मिलाकै स्मृतिमा उहाँका जेठाजु प्रेस स्वतन्त्रता सेनानी वैद्यनाथ झाले चार वर्षदेखि पुरस्कार वितरण गर्दै आउनुभएको छ । पुरस्कारको राशी दुई हजार पाँच सय पाँच रहेको छ ।
गत वर्ष सो पुरस्कारबाट गायिका एवम् रेडियोकर्मी तिरहुत गाउँपालिका वडा न.१ की मुनचुन देब ‘प्रिया’ पुरस्कृत हुनुभएको थियो । यस्तै ०७७ सालमा राजविराज नगरपालिका–७ की किरण झा र ०७८ सालमा राजविराज–४ की रञ्जु साह पुरस्कृत हुनुभएको थियो ।
पत्रकार तथा अभियानकर्मी झाले बुवाको स्मृतिमा पण्डित नित्यानन्द झा स्मृति पुरस्कार, स्व. पत्रकार उमा सिंहको स्मृतिमा उमा सिंह पत्रकारिता पुरस्कार र अथक मानव अधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा बैद्य–प्रकाश मानव अधिकार पुरस्कार समेत स्थापित गर्नुभएको छ ।
मैथिली गीत गायन पुरस्कार प्रकाश स्मृति दिवसकै अवसरमा आगामी मङ्गलबार राजविराजस्थित नेपाल पत्रकार महासंघको सभाकक्षमा हुने कार्यक्रममा वितरण गरिने झाले जानकारी दिनुभयो । उक्त कार्यक्रम राष्ट्रिय मानव अधिकार आयोगका सदस्य तथा पूर्व न्यायाधीश मिहिर ठाकुरको प्रमुख आतिथ्यता हुने आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०७-२९ , समय : १८:४६:३१ , १ वर्ष अगाडि