कोशी प्रदेशका दुई लाख २५ हजार गाईभैँसी संक्रमित
मिति: २०२३-०७-२२ , समय : १२:४७:२९ , गामघर डेस्क
मिति: २०२३-०७-२२ , समय : १२:४७:२९ , गामघर डेस्क
गामघर डेस्क
विराटनगर । महामारीको रुपमा फैलिएको ‘लम्की स्किन’ रोगबाट कोशी प्रदेशका दुई लाख २५ हजार चार सय २३ गाईभैँसी संक्रमित भएका छन् । गाईगोरुमा रोगको समस्या बढी छ ।
लम्की स्किनबाट शुक्रबारसम्ममा पाँच हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका फोकल पर्सन डा.देवकुमार दर्लामीका अनुसार लम्की स्किनको संक्रमण कोशीका सबै जिल्लामा फैलिएको छ भने इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको छ ।
प्रदेशभर चार हजार ९७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । ती मध्ये सबैभन्दा बढी इलाममा एक हजार ३८२ गाईगोरु र राँगाभैँसी मरेको निर्देशनालयले जनाएको छ ।
झापामा पाँच सय चार, पाँचथरमा चार सय २२, मोरङमा चार सय ८८, उदयपुरमा तीन सय ८५, सुनसरीमा तीन सय ६२, खोटाङमा दुई सय ७९, धनकुटामा दुई सय ७७, सङ्खुवासभामा दुई सय ८५, ओखलढुङ्गामा दुई सय दुई, तेह्रथुममा एक सय ४४, ताप्लेजुङमा एक सय ७०, भोजपुरमा ८३ र सोलुखुम्बुमा ३५ गाईगोरु र राँगाभैँसी लम्पी स्किनको संक्रमणबाट मरिसकेका छन् ।
मृत्युदर इलाममा धेरै भए तापनि प्रभावित पशु पाँचथरमा धेरै छन् । आजसम्मको तथ्यांकअनुसार पाँचथरमा ३३ हजार ८७ गाईगोरु र राँगाभैँसी लम्पी स्किनबाट संक्रमित रहेको निर्देशनालयका फोकल पर्सन डा.दर्लामीले जानकारी दिए ।
उनका अनुसार इलाममा ३१ हजार तीन सय ४९, धनकुटामा २१ हजार पाँच सय ६८, उदयपुरमा २१ हजार एक सय ८८, सुनसरीमा १७ हजार आठ सय ८६, तेह्रथुममा १५ हजार नौ सय ८६, मोरङमा १३ हजार आठ सय ९०, सङ्खुवासभामा १३ हजार चार सय ६०, खोटाङमा १२ हजार नौ सय १०, ओखलढुङ्गामा सात हजार छ सय ९४, ताप्लेजुङमा सात हजार छ सय २३, भोजपुरमा सात हजार एक सय ५२ र सोलुखुम्बुमा सात सय पाँच गाईगोरु र राँगाभैँसीमा लम्की स्किनको संक्रमण पुष्टि भइसकेको छ ।
लम्की स्किनको संक्रमण गाईगोरुको तुलनामा राँगाभैँसीमा न्यून सङ्ख्यामा देखिएको छ । कोशी प्रदेशमा संक्रमित संक्रमितमध्ये गाईगोरु दुई लाख २३ हजार सात सय २६ छ भने राँगाभैँसीको संख्या एक हजार आठ सय १७ मात्र रहेको छ ।
लम्की स्किन रोगको संक्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।
प्रकाशित मिति: २०२३-०७-२२ , समय : १२:४७:२९ , १ वर्ष अगाडि